काठमाडौं, साउन १९ गते। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताउनुभएको छ।
शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उहाँले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताउनुभएको हो।
अध्यक्ष भट्टराईले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंङ्ले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाललाई संसारको एउटा समुन्नत देशको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासात् गरेर अघि बढिरहेको जिकिर गर्नुभयो।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘‘हिजो व्यवस्था फेर्नका लागि सङ्घर्ष गर्ने, लडने, जेल जाने यस्तो कार्य चाहिँ प्रमुख थियो। तर, संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्यो। अब एउटा नयाँ लोकतान्त्रिकरणको युगमा, समृद्धिकरणको युगमा, सुशासनको युगमा प्रवेश गर्याे। अब व्यवस्थाका लागि लडनुपर्ने अवस्था पनि आउन सक्छ। सङ्घर्षहरु गर्नुपर्ने अवस्था पनि आउन सक्छ। तर, त्यो प्रधान हुँदैन। प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढङ्गले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्याउने कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान सुरु गर्यौं।’’
अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरुले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताउनुभयो। उहाँले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई सङ्घर्ष, एकता र रुपान्तरणको माध्यमबाट व्यवस्थापन गर्दै अघि बढाउने बताउनुभयो।