• २६ वैशाख २०८२, शुक्रबार

मुर्रा ल्याउन विज्ञ टोली भारत जाने

blog

काठमाडौँ, साउन १९ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ । 

नेपाल–भारतबिच भएको सम्झौता अनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो निःशुल्क उपलब्ध गराउने भएको छ । ती राँगो ल्याउनका लागि मन्त्रालयले चार सदस्यीय विज्ञ टोली भारत पठाउने भएको छ । टोलीमा महानिर्देशक काफ्लेका साथै राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदीश पाण्डे र कृषि मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन महाशाखाका राजेश यादव रहनुभएको छ । 

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार टोली तयारी अवस्थामा छ, भारतबाट बोलाउने बित्तिकै जान्छ । नेपाललाई मुर्रा जातको राँगो दिनका लागि भारतले पनि केही प्राविधिक तथा प्रशासनिक कार्य मिलाउनुपर्ने भएकाले तत्कालै नबोलाएको हो । उहाँले भन्नुभयो, “भारतसँग हामी नियमित सम्पर्कमा छौँ, उहाँहरूको काम सकिनेबित्तिकै खबर आउँछ र यताबाट टोली जान्छ ।”

राँगो ल्याउन गएको टोलीले ‘लम्पी स्किन’ रोगका लागि तयार गर्ने खोपका बारेमा पनि छलफल गर्ने बताइएको छ । नेपालले आफैँ पनि खोप उत्पादन गर्न सक्छ तर आवश्यक सामग्री नभएका कारण उत्पादन गर्न सकिरहेको छैन । विभागका प्रवक्ता ढकालका अनुसार भारत गएका विज्ञ टोलीले खोप बनाउने सिड भाइरसका बारेमा पनि छलफल गरेर आउने छ, भारतले सिड भाइरस दिन तयार भयो भने नेपालमै खोप उत्पादन गर्न सकिन्छ ।