• २० पुस २०८१, शनिबार

माओवादी केन्द्रीय समिति बैठक

पार्टी निर्माणमा कठोर रूपमा लाग्न सुझाव

blog

वीरेन्द्र ओली

काठमाडौँ, साउन १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताले सरकारले भ्रष्टाचारविरोधी अभियान थालेजस्तै पार्टी निर्माणमा कठोर कदम चाल्न सुझाव दिएका छन्। नेताहरूले पार्टी केन्द्रीय समिति दुई अङ्कको बनाएर चुस्त बनाउन आग्रह गरेका हुन्। 

पार्टी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले राम्रो काम गरेर जनतामा राम्रो छाप पार्न सफल भएकाले पार्टी निर्माणमा त्यस्तै कठोर नीति लिएर अघि बढ्नुपर्ने धारणा राखेको पार्टी केन्द्रीय सदस्य कृष्णध्वज खड्काले बताउनुभयो। मन्त्री श्रेष्ठले अहिलेका प्रमुख कार्यभारका रूपमा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक व्यवस्थासँगै संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता विकास र समृद्धि भएको उल्लेख गर्नुभयो। उहाँले पार्टीको रणनीतिक कार्यभारका रूपमा समाजवादको आधार निर्माण गर्नुपर्ने अवस्था रहेको त्यस अनुरूपको पार्टी बनाउनुपर्ने सुझाव दिएको खड्काले बताउनुभयो। 

“प्रधानमन्त्रीले पदभार सम्हालेकै दिनदेखि केन्द्रीय कार्यभारका रूपमा सुशासन, समृद्धि र सामाजिक न्यायलाई राख्नुभयो। सुशासनको पक्षमा प्रभावकारी ढङ्गले काम भइरहेको छ। भ्रष्टाचार, अनियमितता, दण्डहीनता, ठगी, तस्करी सबैविरुद्ध कठोर नीति लिएका छौँ,” मन्त्री श्रेष्ठको भनाइ उल्लेख गर्दै खड्काले भन्नुभयो, “अब हामीले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउनुपर्छ। यो पार्टीले सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक कार्यनीतिक लक्ष्य र समाजवादको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने भयो।” 

माओवादी पार्टीलाई साङ्गठनिक र वैचारिक रूपमा सुदृढीकरण गरेर क्रान्तिकारी शक्तिशाली पार्टी निर्माण गर्नुपर्ने धारणा राखेको खड्काले बताउनुभयो। सरकारका काम प्रधानमन्त्रीकै समझदारीमा भएकाले पार्टी निर्माणमा समेत त्यसैबमोजिम हुने श्रेष्ठले उल्लेख गर्नुभयो। 

विधान सम्मेलन तीन महिनापछि गर्न सुझाव दिँदै उपाध्यक्ष श्रेष्ठले विधान सम्मेलनले पार्टीको संरचना कस्तो हुने परिभाषित गर्नुपर्ने र अहिलेजस्तो बैठकै बस्न नसक्ने जम्बो नभई, दुई अङ्कको केन्द्रीय समिति बनाउन सुझाव दिनुभयो। विधान सम्मेलन भएको तीन महिनापछि विशेष महाधिवेशनमा जाँदा पार्टी वैचारिक र सांस्कृतिक रूपमा रूपान्तरण भई शक्तिशाली बन्नुपर्ने उहाँले बताउनुभयो।

यस्तै पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पार्टी सुधार्न जनताबिचमा गएर आलोचना र गुनासो प्रत्यक्ष सुनेर मात्रै गर्न सकिने बताउनुभयो। पार्टीको तीनमहिने अभियान लिएर गाउँ जाने र जनताका बिचमा गएर मात्रै पार्टीलाई सच्याउन सकिने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हामी बिग्रेकै छौँ। जनताको आलोचना र गुनासा प्रत्यक्ष सुनेर रूपान्तरित हुनु पर्छ।” 

यस्तै केन्द्रीय सदस्य माधवप्रसाद सापकोटाले पार्टीको आन्तरिक जीवनलाई सुदृढीकरण गर्दै गतिशील बनाउनुपर्ने विषयमा नेताहरूले धारणा राखेको बताउनुभयो। “पार्टीको साङ्गठनिक संरचना अलि भद्दा भयो। त्यसैले पार्टी जीवन्त हुन सकेन। पार्टीले राम्रोसँग काम गर्न सकेन। पार्टीलाई विधि र पद्धतिमा लैजाने धेरै माथिबाट नोमिनेट गर्नेभन्दा पनि तलैबाट इलेक्सन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव छन्,” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले भन्नुभयो। 

उहाँले पार्टी नेतृत्वसहित पटक पटक मन्त्री र सांसद भएका नेताको मूल्याङ्कन गरेर समीक्षा गर्नुपर्ने विषय नेताहरूले उठाएको प्रस्ट पार्नुभयो। पार्टीलाई विधिमा लैजान वडा कमिटीदेखि आन्तरिक निर्वाचन प्रणालीबाट आउने व्यवस्था गर्नुपर्ने नेताहरूले धारणा राखेका छन्।

तर अर्का पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादी विचार र व्यवहारमा लथालिङ्ग भएको भन्दै असन्तुष्टि पोख्नुभयो। “माओवादी विचार व्यवहारमा सबैतिर लथालिङ्ग छ। विचार र व्यवहारको साइकल छैन। संसदीय व्यवस्थामै जाने हो भने अर्को रूपमा जानुप-यो,” न्यौपानेले भन्नुभयो। माओवादी बिग्रँदै जानुमा विचार र व्यवहारको अन्तरविरोध मुख्य कारण भएको न्यौपानेले बताउनुभयो। शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादमा जान नसकिने बनाउँदै उहाँले बृहत् कम्युनिस्ट पार्टी निर्माणमा जुट्नुपर्ने प्रस्ट पार्नुभयो। 

बिहीबार ५७ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको छ। शुक्रबार ११ बजे बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने प्रवक्ता महराले बताउनुभयो। “नेताहरूले सबैले अध्यक्षको प्रतिवेदनमा समर्थन गर्नुभएको छ। अब डकुमेन्टबमोजिम व्यवहारमा हुनु पर्छ भन्ने सुझाव आएका छन्,” महराले भन्नुभयो।