• १५ वैशाख २०८१, शनिबार

जनचेतनाको अभावले स्तनपान गराउने आमाको सङ्ख्या घट्दो

blog

पूर्ण स्तनपान भनेको बच्चा जन्मिएको एक घण्टाभित्रदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने प्रक्रिया हो ।

काठमाडौँ, साउन १८ गते । पूर्ण स्तनपान गराउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको तथ्याङ्कले देखाएको छ । आमाहरूमा स्तनपान बारे जानकारी नहुँदा र व्यस्तताले गर्दा ग्राफ ओरालो लाग्दै गएको तथ्याङ्क छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या २०१६ को तुलनामा १० प्रतिशतले घटेको देखाएको छ । सन् २०१६ मा ६६ प्रतिशतले पूर्ण स्तनपान गराएका थिए भने २०२२ मा घटेर ५६ प्रतिशतमा झरेको छ ।

बालरोग विशेषज्ञ डा.कल्पना उपाध्याय सुबेदी जनचेतनाको अभाव र पछिल्लो समय कामकाजी महिलाको सङ्ख्या बढ्दै गएकोले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको हुन सक्ने बताउनुहुन्छ । 

पहिलो आउने विभक्ति दूधले पहिलो खोपको काम गर्ने विभिन्न अध्ययनहरूले देखाएको छ । यस्तो दूधमा प्रशस्त मात्रामा इम्युनोग्लोविन हुँदा बच्चामा रोगसँग लड्न सक्ने शक्तिको विकास हुने सुवेदी बताउनुहुन्छ । चिकित्सकका अनुसार बच्चा जन्मिएपछि जतिसक्दो चाँडो स्तनपान गराउन चिकित्सकको सुझाव छ ।

बच्चा जन्मिसकेपछि पहिलो पटक आउने दूध थोरै मात्र आए पनि महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बच्चा जन्मनासाथ दूध बाहिर नफाली जति आउँछ, पहिलो पटक आएको दूध खुवाउनुपर्छ ।” 

पूर्ण स्तनपान भनेको के हो ?

डा. सुवेदीका अनुसार पूर्ण स्तनपान भनेको बच्चा जन्मिएको एक घण्टाभित्रबाट ६ महिनासम्म आमाको दूध मात्र खुवाउने प्रक्रिया हो । सुवेदीका अनुसार आमाको दूध शिशुको लागि पूर्ण आहारा भएकाले बच्चालाई ६ महिनासम्म अन्य खानेकुरा आवश्यक पर्दैन । 

स्तनपानका फाइदा 

डा. सुवेदीका अनुसार पूर्ण स्तनपानले शिशुको शारीरिक र बौद्धिक विकास अन्य बच्चाको तुलनामा राम्रो हुने चिकित्सक बत्ताउँछन् । डा. सुवेदीका अनुसार आमाको दूधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक आहार, प्रोटिन, फ्याट, क्याल्सियमजस्ता तत्व पाइन्छ । आमाको दूधमा इम्युनोग्लोबिन हुने हुँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । पाँच वर्षमुनिका बच्चालाई डायरिया, झाडापखाला,निमोनिया जस्ता रोग स्तनपान बचाउने डा. सुवेदी बताउनुहुन्छ । आमाको दूधले पाँच वर्षमुनिका बच्चाको मृत्युदर पनि कम गर्न मद्दत गर्छ ।

स्तनपान गराउँदा आमा र बच्चाको आत्मीयता बढ्छ । बच्चाका साथसाथै स्तनपान गराउँदा आमाको लागि पनि फाइदा हुने चिकित्सक बत्ताउँछन् । डा.सुवेदीले स्तनपान गराउने आमालाई स्तनको क्यान्सर, पाठेघरको मुख क्यान्सर हुने सम्भावना कम हुने बताउनुहुन्छ । शरीरका साथै सुत्केरी अवस्थामा हुने मानसिक समस्या पनि कम हुने डा. सुवेदी बताउनुहुन्छ । 

पूर्ण स्तनपान परिवार नियोजनको पनि काम गर्ने चिकित्सक बताउँछन् । स्तनपान गराउने आमाको गर्भ रहने सम्भावना न्यून हुने सुवेदीको भनाइ छ ।

कति पटक गराउने स्तनपान ?

चिकित्सकका अनुसार शिशुले चाहे अनुसार दूध खुवाउनु उत्तम उपाय हो । डा. सुवेदी भन्नुहुन्छ, “कुनै शिशुलाई २ घण्टामा भोक लाग्ला, कुनैलाई तीन घण्टामा । अनि कुनै बच्चालाई चार घण्टामा भोक लाग्न सक्छ । यो कुरा बच्चामा भर पर्छ । त्यही अनुसार कति पटक दूध खुवाउने भन्ने हुन्छ ।” नवजात शिशुलाई दुईदेखि ४ घण्टाको बीचमा दूध खुवाउनु उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । अध्ययनका अनुसार २४ घण्टामा थोरैमा पनि ६ पटक खुवाउने र छिटो–छिटो खुवाएमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ ।    

कामकाजी आमाले पूर्ण स्तनपान कसरी गराउने ?

कामकाजी आमाले पनि पूर्ण स्तनपान गराउन सक्ने चिकित्सक बताउँछन् । अफिस जानुभन्दा अगाडि एउटा बट्टामा दूध निकालेर राख्ने र परिवारका अन्य सदस्यलाई  बच्चालाई आवश्यक परेको बेलामा आमाको दूध खुवाउन सक्छन् । 

यसरी निकालेको दूध चिसो मौसममा ६ घण्टा र गर्मी मौसममा चार घण्टासम्म राखेर खुवाउन मिल्ने चिकित्सकको भनाइ छ । बट्टामा राखेको आमाको दूध २४ घण्टासम्म प्रयोग गर्नुपरेमा फ्रिजमा राखेर बच्चालाई दूध खुवाउन सकिन्छ । 

शल्यक्रिया गरेकोले स्तनपान गराउन मिल्छ ?

शल्यक्रिया गरेर जन्मिएका बच्चालाई पनि आधा एक घण्टामा स्तनपान गराउन सकिने चिकित्सकको भनाइ छ । डा. सुवेदीका अनुसार शल्यक्रिया गरेर बाहिर निकालेपछि बच्चालाई आमाको छातीमा राखेर दूध चुसाउन सकिन्छ । बच्चाले जति छिटो दूध चुस्यो, त्यति नै दूध जम्मा हुने चिकित्सकको भनाइ छ । 

बच्चा दूध नआउनुको कारण ?

बच्चालाई दूध नआउने कारण आमाको मानसिकताले धेरै प्रभाव पार्ने चिकित्सक बताउँछन् । उहाँ भन्नुहुन्छ, “दूध नआउने कारण आमाको मानसिकताले धेरै प्रभाव पार्छ । आमालाई मेरो बच्चालाई दूध खुवाउनुपर्छ भन्ने भावना भएमा बच्चा देख्नसाथ दूध आउँछ ।” बच्चाले आफैले दूध तान्न नसके बट्टामा निकालेर भए पनि खुवाउन चिकित्सकको सुझाव छ । 

बच्चाको आसन नमिलेको खण्डमा पनि आमाको दूध नआउने चिकित्सक बताउँछन् । “बच्चाको आसन सिधा हुनुपर्छ, बच्चाको शरीरलाई हातले सहयोग गर्नुपर्छ र बच्चाको मुख पूरा खुल्ला हुनुपर्छ ।  बच्चाको शरीर आमाको शरीरमामा टाँसिएको हुनुपर्छ,” डा. सुवेदी भन्नुहुन्छ ।

स्तनपान गराउने आमाले आफ्नो स्वास्थ्यको ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुराका साथै आरामको आवश्यक पर्छ ।अगस्त १ देखि ७ दिनसम्म “स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता” भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम सहित मनाइन्छ । सोही अवसरमा गोरखापत्र अनलाइनका लागि बाल रोग विशेषज्ञ डा.कल्पना उपाध्याय सुवेदीसँग गरिएको भिडियो संवाद:


 भिडियो: मनोज रत्न शाही-केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।