काठमाडौं, साउन १६ गते । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको बताउनुभएको हो ।
प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको बताउनुभयो । उहाँले अन्य देशहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रूपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको जानकारी दिनुभयो ।
डा. झाले कम जनशक्तिबाट अनुगमन, परीक्षणलगायतका काममा अप्ठ्यारो भएको बताउनुभयो । प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन् । नेपालका तीन हजार १४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ । गुणस्तर नियन्त्रण केन्द्रीय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उहाँको बुझाइ छ । उहाँले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरू गर्ने स्थान बनाउनुपर्ने बताउनुभयो ।
‘‘धेरै प्रयोगशालाहरू अस्पताल मातहत छन् । अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ । त्यहाँका प्रयोगशालाहरू पनि सोझै हाम्रो पहुँचमा छैनन् । जसलाई वर्गीकरण चाहिएको छ, उहाँहरू हामीसँग आउनुहुन्छ । मापदण्ड हामीले एकरूपता बनाए पनि अस्पतालको प्रयोगशाला हाम्रो निगरानीमा पर्दैन । अस्पतालहरूको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ । स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदाखेरी त्यसको समग्रमा एकीकृत तथ्याङ्क राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौती छ । जनशक्ति अभाव छ ।,’’ डा. झाले भन्नुभयो, ‘‘रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ । दुवै जना नवौँ तहको हुनुहुन्छ । दरबन्दीको टाइप पनि मिलेको छैन । सङ्ख्या पनि मिलेको छैन । कामको भेराइटीज नै धेरै छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई । एक लाख ३२ हजार सेवाग्राहीको स्याम्पल पनि हेर्नुपर्यो । धेरै जनशक्ति यसैमा लागिरहेको छ । अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदाखेरी अलिकति अप्ठ्यारो भएकै हो । गुणस्तर नियन्त्रण सम्मका लागि त ठिकै हो । तर अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपर्थ्यो ।’’
प्रयोगशालामा अनुसन्धानका क्रियाकलापहरू कम भएको उहाँ बताउनुहुन्छ । डा. झाका अनुसार कार्यालय भनेर बनाइएको संरचनामा अहिले पनि ल्याब सञ्चालन भइरहेको छ । सुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी उहाँले दिनुभयो ।
उहाँले प्रयोगशालाका लागि रिसर्च लेभलका जनशक्तिहरू आवश्यक पर्ने भए पनि जनशक्ति अभावमा काम गर्न बाध्य भएको बताउनुभयो । स्वास्थ्यको अनुगमन एकीकृत तवरबाट हुन नसकिरहेको बताउँदै डा.झाले केन्द्रीय प्रयोगशाला र प्रादेशिक प्रयोगशालाबिच समन्वय नभएको जानकारी दिनुभयो ।
‘ए’ र ‘बी’ प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हेर्ने, ‘सी’ प्रयोगशालालाई प्रदेशले हेर्ने, ‘डी’ र ‘ई’लाई स्थानीय तहले हेर्ने भनेर वर्गीकरण गरिए पनि प्रभावकारी समन्वय हुन नसकेको उहाँको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत हाल दैनिक औसत तीन सयदेखि पाँच सय जनाको स्वास्थ्य परीक्षण हुँदै आएको छ । उहाँले फरक प्रसङ्गमा उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगीको सेरोटाइप अध्ययन गर्न थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘डेंगी पोजेटिभ नेगेटिभ मात्रै नभएर कुन प्रकृति (टाइप)को डेंगी हो भनेर छुटाउन सक्ने अवस्थामा छौँ । यस वर्षको पनि डेंगी सिरोपाइपको अध्ययन गरिरहेका छौँ । स्याम्पलहरू कलेक्ट गरेका छौँ । यसको परीक्षण गर्ने तयारीमा छौँ । डेंगीको कुन सेरोटाइप हो भनेर हेर्ने हो । विभिन्न वर्षमा एउटै सिरोटाइप नहुन सक्छ । यो वर्ष कुन सेरोटाइप आयो भनेर अध्ययन गर्दैछौं । बाहिरबाट हेर्दा सबै डेंगी हो र, त्यसको थप विश्लेषण गरेर कुन सिरोटाइप हो भनेर अध्ययन गर्न लागेका हौँ ।’’
गुणस्तर, नियमन र अनुसन्धानका लागि प्रयोगशालाको स्थापना भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र जनशक्ति यथोचित नहुँदा सेवाप्रवाहमा सकस देखिएको छ ।