• २ जेठ २०८२, शुक्रबार

उच्चस्तरीय छानबिन समिति बनेमा संसद् चल्छ : पूर्वमन्त्री बाँस्कोटा

blog

नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १५ गते । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने गरी गृहकार्य गर्न सरकारले मंगलबारसम्मको समय मागेको बताउनुभएको छ ।

संसद् भवनबाहिर आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मङ्गलबारसम्मको समय माग गरेकाले आजको प्रतिनिधि सभा बैठक बस्न नसकेको उहाँको भनाइ छ । 

सरकारले जति चाँडो उच्चस्तरीय छानबिन समिति बनायो त्यति चाँडै संसद् बैठक सुचारु हुने उहाँको भनाइ छ । सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले भोलीसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद् बैठक चल्छ ।’ सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताउनुभयो ।