• २७ वैशाख २०८२, शनिबार

सिकारलाई हानेको गोली लागेर सिकारी घाइते, तीन जना पक्राउ

blog

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, साउन १५ गते ।
 सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा स्थानीय प्रदेशी थारुलाई गोली लागेको जानकारी दिनुभयो । शुक्रबार राति २ बजे स्याललाई लक्षित गरी हानिएको गोली प्रदेशीलाई लागेको  थियो ।

गोली लागेका सिकारीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

घटनामा संलग्न स्थानीय दुखीराम थारु, बाबुराम थारु र घटना लुकाउन खोज्ने जुरपानी सामुदायिक वनका अध्यक्ष पिङ्गल थारुलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको छ ।

घटनास्थल पहिचान गरी अनुसन्धान गर्ने क्रममा प्रहरीले दुई नाल लोड गरिएको भरुवा बन्दुक र थप एक नाल भरुवा बन्दुक बरामद गरेको छ । घटनामा संलग्न थप मानिसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।