जानु पाण्डे
कपिलवस्तु, साउन १५ गते । कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालमा गत शुक्रवार ड्युटीमा रहेका कर्मचारीलाई अस्पताल प्रमुख सिनियर अहेव लेखनाथ पौडेल र नगरपालिका वडा –३ बस्ने भुवन पाण्डेले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
शुक्रवार राति करिब १ बजे मदिरा सेवन गरेका पौडेल र पाण्डेले महिला कर्मचारीलाई जबरजस्ती कपडा खोल्न लगाउने, वेडमा सुत्न भन्दै धम्की दिएको पीडितले बताउनुभएको छ । नगर प्रमुख अजय थापाले सत्य तथ्य छानबिन गर्न समिति गठन गरिएको बताउनुभयो । घटनामा नाम जोडिएका स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाइ छानबिन सुरु गरिएको छ ।
शिवराज नगरपालिका वडा–५ का अध्यक्ष एवम् अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत सहनुभएका नेत्रप्रसाद बेल्बासेले घटनाबारे छानबिन गरी घटना सत्य भए तत्काल कारबाही गर्ने बताउनुभयो । आरोपित पौडेल र पाण्डे सम्पर्कविहीन रहेको बताइएको छ । पौडेललाई साउन १ गतेबाट अस्पतालको जिम्मेवारी प्रदान गरिएको थियो ।