मकवानपुर समाचारदाता
हेटौँडा, साउन १५ गते । बागमती प्रदेश सरकारले झन्डै एक हजार छ सय अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले प्रदेशका लागि एक हजार ५९५ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोदकुमार भट्टराईले आर्थिक वर्ष २०८०/८१ को योजना र कार्यक्रम कार्यान्वयनका क्रममा १३० जना हेटौँडा अस्पतालमा सेवा विस्तारका लागि, प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नयाँ कार्यक्रमका लागि, भौतिक पूर्वाधार मन्त्रालय र बाँकी गत आवका पदको दरबन्दी स्वीकृत गरेको जानकारी दिनुभयो।
बैठकले प्रदेश इन्जिनियरिङ र स्वास्थ्य सेवा अन्तर्गत १० औँ तहमा कार्यरत दुई कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ। मन्त्रीपरिषद् बैठकले यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निमित्त निर्देशक लोकनाथ रेग्मी र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलका निमित्त निर्देशक नारायणबहादुर कार्कीलाई ११ औँ तहमा बढुवा गरेको हो।
सचिव भट्टराईले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम बढुवा समितिको सिफारिसमा ११ औँ तहमा बढुवा गरी साबिककै कार्यालयको निर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको बताउनुभयो।
प्रदेश सरकारले यसअघि पनि प्रशासन सेवाका दुई कर्मचारीलाई ११ औँ तहमा बढुवा गरी पदस्थापन गरेको थियो। प्रदेश निजामती सेवा ऐनमा ११ औँ तहको कर्मचारी प्रदेश सरकारको सचिव हुने व्यवस्था छ। यस्तै सचिव भट्टराईले मन्त्रीपरिषद् बैठकले प्रदेशको श्रमसम्बन्धी नीतिसमेत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो।