• १५ मंसिर २०८१, शनिबार

सात करोडभन्दा बढीको सामान बरामद

blog

सशस्त्र प्रहरी सीमावर्ती क्षेत्रको गस्ती गर्दै तथा सशस्त्रले सीमा क्षेत्रबाट बरामद गरेका भन्सार छलीका सामान । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन १४ गते । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ । भारतसँग करिब ३९ किलोमिटर खुला सिमाना रहेको महोत्तरीमा सीमा तस्करी चुनौतीपूर्ण भएको बेला सशस्त्रले अहिलेसम्मकै बढी मूल्यका सामान नियन्त्रणमा लिन सफल भएको हो । 

सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९-०८० मा भन्सार चोरी पैठारी निकासीका सात करोड ५७ हजार ६२० रुपैयाँ बराबरका सामान पक्राउ गरेको जनाएको छ । पक्राउ परेका समानमा तीन करोड ४३ लाख मूल्य बराबरका २२० थान सवारी साधन नै छ । २३ लाख ८२ हजारका ५९५ थान चौपाया र तीन करोड २३ लाख बराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरेको सशस्त्रले जनाएको छ । 

बरामद गरिएका अन्य सामानमा एक करोड नौ लाख बराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेकट्रोनिक्स सामानदेखि स्रोत नखुलेका पैसा, जुत्ता चप्पल, अण्डा, औषधि, माछा र हाँस कुखुरा छन् ।