• ८ वैशाख २०८१, शनिबार

पहिलो विहार सङ्ग्रहालयः इतुंबाहाः म्युजियम

blog

तस्बिर सौजन्य : नातिकाजी महर्जन

प्रजित शाक्य

काठमाडौँ, साउन १३ गते । काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध तथा प्रमुख महाविहार हो । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुनेगर्छ । 

मूर्त–अमूर्त सम्पदाले पनि केशचन्द्र पारावत् महाविहार समृद्ध छ । त्यसैले प्राचीन इतिहास बोकेको इतुंबाहाः आफैमा सिङगो सङग्रहालय हो । यस पुरातात्विक महत्व बोकेको इतुंबाहाःमा शनिबार इतुंबाहा म्युजियमको उद्घाटन भएको छ । केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजले यसलाई नेपालको पहिलो विहार संग्रहालय भएको दावी गरेको छ ।

इतुंबाहाः म्युजियममा तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको छ । विनष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामग्री संग्रहगरी सकेसम्म पहिलेको अवस्थामा ल्याएर अभिलेखीकरण गरिएको छ । केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले पाँच सयभन्दा बढी पुरातात्विक सामग्री पहिचान भए पनि हाललाई करिब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामग्रीको पहिचानगरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षणबारे जानकारी गराउने उद्देश्यले यस सङ्ग्रहालयको रहेको छ ।” यसैगरी इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको छ ।

रुवेनसँगको सहकार्य

इतुंबाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस समाजसँग सहकार्य गरेको छ । यसैगरी, इतुंबाहा समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँगको साथले पनि साकार भएको हो ।

सन् १९९९ मा इतुम्बहाको आँग घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियमलाई यस प्राचीन महत्व बोकेको सामग्री विद्याधरको इतिहासबारे अवगत भयो । त्यसपछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गर्यो र विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्कायो ।

त्यसपछि रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गरेको हो । इतुंबाहाः म्युजियम तयार पार्न नेतृत्वदायी भूमिका निर्वाक गर्नुभएकी लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर तथा म्युजियम क्युरेटर स्वस्ति राजभण्डारीले इतुंबाहाः समाजको आप्mनो मूर्तअमूर्त सम्पदा संरक्षण गर्ने प्रयास प्रशंसनीय छ, भन्नुभयो ।

यसअघि, इतुंबहा म्युजियमको उद्घाटन बागमती प्रदेश सांसद शैलेन्द्रमान वज्राचार्यले गर्नुभएको थियो । उहाँले इतुंबाहाः म्युजियमलाई आफूले एक बौद्ध शिक्षा प्राप्त गर्न सकिने एउटा मञ्चको रुपमा हेरेको बताउनुभयो ।