• १२ मंसिर २०८१, बुधबार

रक्तसञ्चार सेवामा समुदायको खोजी

blog

वि सं २०२३ साउन १२ गते अर्थात् ५८ वर्षअघि सरकार र केही समाजसेवीको पहल र नेपाल रेडक्रस सोसाइटीको सक्रियतामा केन्द्रीय रक्तसञ्चार सेवाको स्थापना भई नेपालमा संस्थागत हिसाबले रक्तसञ्चार सेवाको सुरुवात भएको थियो । अहिले रेडक्रसको केन्द्रीय सेवाको अलावा पाँच वटा प्रादेशिक, २३ वटा जिल्ला स्तरीय र ५० स्थानमा आकस्मिक सेवा केन्द्रमार्फत रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ । त्यस्तै केही अस्पतालसँग रेडव्रmसको सहकार्यमा आकस्मिक रक्त सेवा प्रदान भइरहेको छ । केही सरकारी र निजी अस्पतालबाट पनि सीमित भौगोलिक क्षेत्रमा रक्त सेवा प्रदान भइरहेको छ । समग्रमा ७३ जिल्लाको १२० स्थानबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ । 

ब्लड बैङ्क भनेर आमनेपालीले चिन्ने रक्तसञ्चार सेवा केन्द्रले आमरक्तदाताबाट रगत सङ्कलन गरी रक्तसमूहको पहिचान, सङ्व्रmमण परीक्षण, अनुकूलता परीक्षण गरी अस्पताल वा चिकित्सकको मागबमोजिम सिङ्गो रगत वा रक्ततत्व उत्पादन गरी बिरामीलाई उपलब्ध गराइरहेका छन् । नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार नीतिबमोजिम आवश्यकतामा रहेका बिरामीका लागि सुलभ र गुणस्तरीय रक्तसञ्चार सेवा उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले देशभरका निकायलाई सक्रिय बनाएको छ । रक्तसञ्चार सेवाको सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकाय, युवा विद्यार्थी, मजदुर, पेसा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनीतिक दल र भातृसङ्गठनलगायत आमरक्तदाता, शैक्षिक संस्था, सहकारी, वित्तीय सङ्घसंस्था, रक्तदान कार्यक्रम गर्ने सङ्घ संस्था, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट रेडक्रसलाई सहयोग पुगिरहेको छ । 

सेवा केन्द्रहरूको क्षमता र चुनौती

स्थापनाको सुरुको वर्ष अर्थात् विसं २०२३ मा १५७ युनिट मानव रगत सङ्कलन गरी सेवा दिइएकोमा आर्थिक वर्ष २०७८।७९ मा २,७३,१७० युनिट सङ्कलन भई कम्पोनेन्ट सुविधासहित ३,५२,९१९ युनिट वितरण भएको थियो । केन्द्रीय रक्तसञ्चार सेवाबाट मात्रै आव आर्थिक वर्ष २०७९।८० मा ३३,४८५ युनिट रगत सङ्कलन भई ५४,१२३ युनिट वितरण भएको छ । औषत रक्ततत्व सेवा ५० प्रतिशतभन्दा कम रहेको छ, जुन न्यूनतम ८० प्रतिशत पु-याउन आवश्यक छ । यसका लागि रक्तसेवामा तालिम प्राप्त जनशक्ति, भवन, ल्याब, मेसिनलगायत भौतिक पूर्वाधार बढ्नु पर्छ र अस्पतालबाट रक्ततìव माग उचित तरिकाले हुनु पर्छ । त्यसैले मुलुकमा रक्तसेवाको क्षेत्रमा दक्ष जनशक्तिको विकास अपरिहार्य छ साथै अत्याधुनिक उपकरणको व्यवस्था समयको माग हो । प्रादेशिक, जिल्ला तथा आकस्मिक रक्तसञ्चार सेवामध्ये केहीको आफ्नै भवन र केहीको अस्पताल तथा सार्वजनिक भवनको हातामा रहेका भवन, कोठाबाट सेवा प्रदान भइरहेको छ । कतिपय स्थानमा जग्गा भोगाधिकारको विषयमा समस्या पनि देखिएका छन् । यी समस्या राज्यस्तरको सहयोगसमेतबाट समाधान हुनुपर्ने देखिन्छ । 

प्रादेशिक, जिल्ला तथा आकस्मिक सेवा केन्द्रहरूको कमजोर भौतिक, आर्थिक तथा प्राविधिक क्षमता, सेवा केन्द्रको भौगोलिक वितरणमा असमानता, रक्ततìव सेवामा न्यूनता, नियमित रक्तदाताको कमी छ । रक्तदाताको सम्मान र सङ्ख्या बढोत्तरीका उपायमा कमी, जनचेतनामा कमी, सूचना प्रविधिसँग सेवा जोडिन नसक्नु, रक्तदान सम्बन्धित सङ्घसंस्थाको आर्थिक अवस्था कमजोर हुँदा पनि समस्या भइरहेको छ । अस्पतालमा रक्त व्यवस्थापन युनिटको अभाव, फोहोरको उचित व्यवस्थापन र नीतिगत अष्पष्टता जस्ता मुख्य चुनौती अहिलेको रक्त व्यवस्थापनमा मौजुद छन् । यी चुनौतीलाई तीन तरिकाले समाधान गर्न सकिन्छ, पहिलो सेवा केन्द्रको आर्थिक दिगोपनामा सहयोग, दोस्रो प्रविधि र उपकरणको उपलब्धता र प्रयोग अनि तेस्रो, सामुदायिक संलग्नतामा बढोत्तरी । 

सामुदायिक संलग्नता

रगतको आवश्यकतामा जो पनि पर्न सक्छ । त्यसैले सुलभ र सुरक्षित रक्त उपलब्धता समुदायको पहिलो र प्रमुख चासो रही आएको छ । भनेको, चाहिएको बेला रगत बिरामीले रगत पाउने अवस्था बनाउन रक्तदानको सचेतना, यसका फाइदाको बारेमा खास गरी युवासमक्ष जागरण ल्याउनुपर्ने छ । नेपालमा जनसङ्ख्याको करिब ०.९ प्रतिशत मात्र रक्तदान गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यदि जनसङ्ख्याको एक देखि तीन प्रतिशत मानिसले रक्तदान गरेमा त्यो देशमा रगतको आवश्यकताको सहज आपूर्ति हुन सक्छ । नेपालमा कुल रक्तदातामध्ये महिला रक्तदाता १८ 

प्रतिशत रहेको छ । युवा रक्तदाताको बढोत्तरी हुनुपर्ने देखिन्छ । यस परिप्रेक्ष्यमा केन्द्रीय रक्तसञ्चार सेवाले सुलभ, गुणस्तरीय र मर्यादित सेवाको अवधारणा अघि ल्याएको छ । जसका लागि रगतको उपलब्धताको क्षेत्रमा सामुदायिक संलग्नतालाई जोड दिएको छ । 

रक्तसेवा कार्यक्रम अभियानको तर्जुमा तथा सञ्चालनसम्बन्धी एउटा सशक्त अवधारणा सामुदायिक संलग्नता तथा जवाफदेहिता हो । यसमा खास गरी रक्तकार्यक्रममा दोहोरो सञ्चार, सहभागिता, रक्तदान र उचित प्रयोगको क्षेत्रमा व्यवहार परिवर्तन गरी रक्तआपूर्तिको दिगो समाधान खोजिन्छ । यो क्रममा समुदायलाई रक्तसञ्चार सेवाको केन्द्रबिन्दुमा राखिन्छ, अनि सुलभ र गुणस्तरीय रगत तथा रगत तत्वको उपलब्धता मूल ध्येय बनाइन्छ । 

तीन–तीन महिनाको अन्तरालमा वर्षको चार पटक गर्न मिल्ने रक्तदानको सङ्ख्या कम्तीमा अहिलेको तुलनामा दुइगुना बढाउन सकिएमा अर्थात् जनसङ्ख्याको दुई प्रतिशतको हाराहारीमा बनाउन सकिएमा उपलब्धता सुनिश्चित हुन सक्छ । यसका लागि समुदायमा आधारित सङ्घ संस्थाहरूले रक्तदानसम्बन्धी सूचना घरघरमा लैजान थप मद्यत गर्न सक्छन् । एक घर एक रक्तदाताको अभियानका लागि सन्देश फैलाउन र नयाँ रक्तदातालाई उत्प्रेरित गर्न सक्छन् । यसका अलावा मिडिया, पाठ्यक्रम तथा सूचना शिक्षा सामग्रीको प्रभावकारी उपयोगबाट रक्त उत्प्रेरणा मात्रै होइन रक्त आवश्यकतामा परेका मानिसलाई, सेवामा पहुँचबिहीन र सामाजिक तथा आर्थिक रूपले सङ्कटासन्न परिवारलाई सुलभ तरिकाले उपलब्ध गराउन सहयोग पु¥याउन सकिन्छ । 

रगतदान, रक्त व्यवस्थापन र उचित चिकित्सकीय प्रयोग बढाउन सामुदायिक जागरण आवश्यक छ । रक्तदान, उपलब्धताका विषयमा देखिएका भ्रमहरू हटाउन, सेवासम्बन्धी गुनासोको सुनुवाइ बढाउन, निशुल्क हटलाइन ११३० लगायत सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट, कुराकानी, 

अन्तव्रिर्mया र प्रकाशनमार्फत भइरहेको सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सामुदायिक संलग्नता र जवाफदेहिताको पक्षमा थप कार्य गर्नुपर्ने छ । रक्तदान हुने स्थान, समस्या परेमा सम्पर्क गर्नेलगायत रक्तदान गर्दा कमजोर भइन्न, रक्तदान गरेर मरिँदैन तर नगरेमा बिरामीको भविष्यबारे भन्न सकिन्न जस्ता तथ्यहरू जनसमक्ष बुलन्द बनाउन सामुदायिक परिचालनले मद्दत पुग्न जाने छ । सामुदायिक संलग्नता बढाउने भनेको रक्तदान गर्नका लागि व्यक्ति तथा सङ्घसंस्थालाई उत्प्रेरित गरिरहने हो । नियमित रक्तदान एउटा बानी नै बनोस् भन्ने अभिप्राय यसमा राखिएको हुन्छ । दाता र सङ्घसंस्थासँग रगत व्यवस्थापनको क्रममा भएका अनुभव, सुझाव, टिप्पणी र गुनासा सुन्ने र सुधार गर्दै जाने रेडक्रसले योजना र कार्यान्वयन गर्दै आएको छ र यसमा भएका त्रुटि, दोष सच्चाउँदै जानुपर्ने छ ।  

उपसंहारबितेको ५८ वर्षको नेपालको रक्तसेवाको संस्थागत यात्रामा अवैतनिक, स्वयंसेवी रक्तदाता सेवाको मूल आधार बनेका छन् । बृहत् स्तरमा सामुदायिक संलग्नताका पक्षहरूलाई रक्तसेवाका गतिविधिमा मूलप्रवाहीकरण गर्न सकिएमा मात्रै आवश्यकता परेको बेला रगत तथा रक्ततìवको उपलब्धतामा सहज हुन जान्छ । 

सरकारी निकायबाट रक्तसञ्चार केन्द्रलाई उपकरण तथा आर्थिक दिगोपनाका लागि थप सहयोग हुनुपर्ने आवश्यकता छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वान छ कि राष्ट्रिय रक्तसञ्चार कार्यक्रमको प्रवर्धन र विकास राज्यको कर्तव्य हो, यो कुरा नेपालको संविधानको भावना र मर्मसँग पनि मिल्छ । 

आधुनिक, स्वचालित उपकरणको उपलब्धता, रक्ततत्व सेवाको अभिवृद्धि, रक्तदाता र रक्तदान सम्बन्धित सङ्घसंस्थाको अभिप्रेरणा, नियमित रक्तदाताको बढोत्तरी, प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि, सेवा र सेवाप्रदायक निकायमा विद्युतीय सञ्जालबाट सूचना आदान प्रदान अनि बिरामी तथा बिरामीको आफन्तलाई रगत तथा रगत तत्वको उपलब्धताको विषयमा सूचनाको पहुँचमा अभिवृद्धि जस्ता विषय राष्ट्रिय रक्तसेवा कार्यक्रममा समेटिनु र प्राथमिकतामा रहनु आजको आवश्यकता हो । 

विपन्न लक्षित शुल्क सहुलियत कार्यक्रममा स्थानीय र प्रादेशिक सरकारहरूले सहयोग गरिरहेकोमा त्यसको दायरा बढाउन, थप सहुलियत दिन सङ्घीय सरकारले नीतिमा स्पष्ट बोल्न सकेमा वास्तविक विपन्न वर्गहरूको समस्या समाधान हुन मद्दत पुग्ने छ । विद्यमान रक्तसञ्चार केन्द्रहरूलाई स्रोत साधनयुक्त बनाई सुलभ, गुणस्तरीय र मर्यादित सेवाको अवधारणालाई साकार बनाउन समुदाय, रेडक्रस र सरकारले थप हातेमालो गर्नै पर्दछ ।

लेखक केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक हुनुहुन्छ ।