• १६ चैत २०८०, शुक्रबार

पुल कटान हुनबाट जोगाउन जैविक तटबन्ध

blog

धनगढी समाचारदाता

धनगढी, साउन १२ गते । कैलाली भजनीस्थित कान्द्रा नदीमा रहेको झोलुङ्गे पुल कटानको जोखिममा परेपछि त्यसलाई जोगाउन जैविक तटबन्ध निर्माण गर्न थालिएको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा जनश्रमदान गरी चार सय मिटर लामो जैविक तटबन्ध बनाउन थालिएको हो ।

भजनी नगरपालिकाका वडा नम्बर ४ र ९ लाई जोड्ने झोलुङ्गे पुललाई जोगाउन जैविक तटबन्ध बनाउन थालिएको ४ का वडाध्यक्ष जनताराम चौधरीले बताउनुभयो । अम्मारीस्थित कान्द्रा नदीमा सङ्घीय सरकारको लगानीमा गत वर्ष मात्रै झोलुङ्गे पुल बनाइएको हो ।

करिब दुई सय मिटर लामो सो झोलुङ्गे पुलको एकतिरबाट नदीले कटान गर्ने जोखिम बढेको छ । नदीले दक्षिणतर्फको जमिन कटान गरिरहेको छ । नगरपालिकाका प्रमुख केबल चौधरीसहित जनप्रतिनिधि पनि तटबन्ध निर्माण कार्यमा खट्नुभएको छ ।

जैविक तटबन्ध निर्माणसम्बन्धी सबै मापदण्ड पूरा गरेर तटबन्ध निर्माणको कार्य भइरहेको छ । तटबन्ध निर्माणमा खामा, स्याउला, बोरालगायत प्रयोग गरिएको छ । सो तटबन्ध निर्माण कार्य पूरा गर्न एक हप्ता लाग्ने अनुमान गरिएको छ । 

सरकारको लगानीबिना स्थानीय स्तरबाट स्रोत प्रयोग गरेर तटबन्ध निर्माणको कार्य भइरहेको छ । पुलनिर्माण कार्यमा अम्मारी, गञ्जहुवा, खैलाड र खैलाड गाउँका स्थानीयवासी जुटेका छन् । जनप्रतिनिधिसमेतको सहभागितामा तटबन्ध निर्माण कार्य अगाडि बढेपछि स्थानीय पनि उत्साहित भएका छन् ।