• २८ असोज २०८१, सोमबार

रोकिएको रकम भुक्तानी गर्न निर्माण व्यवसायीको माग

blog

हेटौँडामा रहेको सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायीहरु । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, साउन ११ गते ।
 मकवानपुरका निर्माण व्यवसायीहरूले आफूहरूले काम गरेर पनि भुक्तानी पाउन बाँकी रहेको रकम तत्काल भुक्तानी दिन माग गरेका छन् ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरको अगुवाइमा बिहीबार पाँच वटा सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायीहरूको काम गरेर रोकिएको रकम भुक्तानी तत्काल गर्नुपर्ने माग गरेका हुन् ।

सरकारले अमूर्त रूपमा म्याद थप गर्न गरेको निर्णय अस्वीकार्य भएको भन्दै निर्माण व्यवसायीहरूले सबै आयोजनाहरूको एकमुष्ट म्याद थप गर्न माग गरेका छन् ।

साथै, अप्रत्याशित र अत्यधिक रूपमा भएको मूल्य वृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गर्नुपर्ने, चेक बाउन्स तथा बैङ्क ग्यारेन्टी जफतलगायतका कारबाही रोक्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था रोक्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको छ ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरका कार्यवाहक अध्यक्ष सागर कटुवालको नेतृत्वमा यातायात पूर्वाधार निर्देशनालय, सहरी विकास तथा भवन कार्यालय, सडक डिभिजन कार्यालय, हेटौँडा, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।