प्रतीक इच्छुक शर्मा
सल्यान, साउन ११ गते । सल्यान कपुरकोट गाउँपालिका–३ का तुलसी केसीलाई अचेल तरकारी टिप्न र बेच्न भ्याईनभ्याई छ । कुनै बेला रोजगारीका लागि श्रीमानसँग भारतसम्म पुग्नुभएको केसीको तरकारी खेती नै आयस्रोतको प्रमुख माध्यम बनेको छ । उहाँ हप्तामा दुई दिन सञ्चालन हुने कपुरकोट हाटबजारमा तरकारी बेचिरहेको अवस्थामा भेटिनु हुन्छ ।
कपुरकोटकै टङ्की खड्काले पनि ५ रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेती गरेर तीन महिनामा पाँच लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । तुलसी र टङ्कीजस्तै कपुरकोटका अधिकांश महिलाहरूले तरकारी खेतीबाटै मनग्य आम्दानी गरेका छन् । कुनै बेला घरायसी कामकाजमा मात्र सीमित रहने सल्यानका महिलाहरू हिजोआज तरकारी खेतीबाट आम्दानी गर्न थालेका छन् । तरकारी खेतीमा संलग्न हुन थालेपछि कपुरकोट क्षेत्रका महिलाको दैनिकी नै फेरिएको छ ।
बेमौसमी तरकारी खेतीका लागि प्रख्यात कपुरकोट क्षेत्रका महिलाले गोलभेँडा, बन्दा काउली, सिमी, बोडी, भेडे खुर्सानी, मुला, साग, काँक्रा लगायतका तरकारी तथा फलफूल उत्पादन गर्ने गरेका छन् ।
बेमौसमी तरकारीको पकेट क्षेत्रको रूपमा रहेको सल्यान कपुरकोटका करिब ३६ सय घरपरिवारले तरकारी खेतीबाटै जीवन निर्वाह गर्दै आइरहेका छन् । उनीरुले तरकारी उत्पादन मात्र होइन, हाटबजारमा मूल्य निर्धारण गर्नेदेखि लिएर कारोबारमा समेत अग्रसर देखिन्छन् । कपुरकोट कृषि उपज बजार सङ्कलन केन्द्र सल्यानका सचिव तिलक शर्माले कृषिकर्ममा महिलाहरूको सहभागी बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार कपुरकोट क्षेत्रमा रहेका महिलाहरू बजारसम्म बिक्री गर्न आइपुग्छन् ।
कपुरकोट गाउँपालिकाबाट छ महिनाको अवधिमा वार्षिक ३० करोडभन्दा बढीको तरकारी जिल्लाबाहिर निर्यात हुने गरेको छ । गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले तरकारीलाई ब्रान्डिङ गर्नका लागि गाउँपालिकाले विषादी परीक्षणको व्यवस्था गर्ने, चिस्यान केन्द्र निर्माण, कृषि एम्बुलेन्सको व्यवस्था गर्नेलगायतका कार्यक्रम अगाडि सारेको बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको तरकारीको न्यूनतम मूल्य पालिकाले निर्धारण गरी बिक्रीको समेत व्यवस्था गर्ने तयारी भएको छ । कपुरकोटमा उत्पादन भएको तरकारी नेपालका ठुला सहर, काठमाडौँ, नेपालगञ्ज, बुटवल, धनगढी, दाङलगायत भारतसम्म निकासी हुने गरेको छ ।