मोहनसिंह बुढा
अदानचुली (हुम्ला), असार १३ गते । जिल्लाको चंखेली गाउँपालिकास्थित लोतीखोला कर्णाली नदिमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । ८० प्रतिशत काम भइसकेको बेलिब्रिज जडान भएसँगै हिमाली जिल्ला हुम्ला हुँदै मुगुको रारा ताल र कैलाश मानसरोवरको यात्रा सहज हुने भएको हो ।
पुलामा सबै स्टिल पार्टहरु जडानको कार्य धमाधम भइरहेकाले बेलिब्रिज केही दिनभित्रै सञ्चालनमा आउने छ । यससँगै रारा–चंखेली हिमाल हुँदै हुम्लाको लाप्चाबाट मनसरोवर जाने पर्यटकको गन्तव्य छोटिने भएको छ । यससँगै कर्णाली प्रदेशको भौगोलिक जटिलता हटाउँदै आर्थिक विकासको गति थपिने अपेक्षा गरिएको छ । त्यति मात्र नभई दुर्गम चंखेलीका स्थानीयलाई समेत गाउँपालिका केन्द्र आउन व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब तुइन तर्ने बाध्यता सधैँका लागि अन्त्य हुने छ ।
बेलिब्रिज बनिरहेको सो नदिमा झोलुङ्गे पुल समेत नहुँदा तुइनको भरमा ज्यान जोखिम राखेर नदि तर्नु पर्ने बाध्यता छ । अहिले पनि सो स्थानमा तुइन सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।
निर्माण भइरहेको मेटरी प्यानल ब्रिज सञ्चालनमा आएपछि चंखेली गाउँपालिकाका सबै वडा राष्ट्रिय सडक सञ्जालमा औपचारिकरूपमा जोडिने भएका छन । सो स्थानमा पुल नभएकै कारण गाउँपालिका केन्द्रबाट वडा नं १, २ र ३ जान लामो बाटो प्रयोग गर्नुका साथै तुइनको भरमा नदि वारपार गर्नुपर्ने बाध्यता रहेको छ । यतिबेला पुल निर्माणको चरण ८० प्रतिशत काम सम्पन्न भइसकेकाले अब सहज रुपमा यात्रा गर्न पाउने बिस्वास लिएको बताउनुभयो ।