सुधा देव
भारदह(सप्तरी), असार १३ गते । सप्तरीमा शृङ्खलाबद्ध हत्याको घटना घटेपछि जिल्लाका सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन् ।
पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का छेदीलाल खंगको ३२ वर्षीय छोरा राज कुमार खंगको घाँटी रेटी हत्या गरेको अवस्थामा जिल्लाको राजगढ गाउँपालिका ४ पिप्राहीको पोखरी छेउमा बिहीबार शव फेला परेको छ । किन कसले हत्या गरेको विषयमा अहिलेसम्म खुल्न सकेको छैन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गत जेठको दोस्रो हप्ता जिल्लाकै सुरूङ्गा नगरपालिका ८ मल्हनमामा पाँच/छ जना डाकाहरुको समूहले गोली र धारिलो हतियार प्रहार गरी स्थानीय ५६ वर्षीय कान्तलाल चौधरीको हत्या गरेका थिए । उहाँको भाई पर्नेले भागेर ज्यान जोगाउनुभएको थियो ।
सप्तरी प्रहरीले खंग र चौधरीको हत्याको विषयमा थप अनुसन्धान गर्न र दोषीलाई पक्राउ गर्न तालिम प्राप्त कुकुरको सहयोग लिए पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेकाे छैन । गत वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी २० वर्षीया पूजाकुमारी राम भोलिपल्ट शङ्कास्पद अवस्थामा मृत भेटिनुभएको थियो । घरबाट तीन सय किलोमिटर पर हत्या गरेर फालिएको अवस्थामा फेला उहाँको शव फेला परेको थियो ।
घरबाटै बेपत्ता पूजाको हत्या भए पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन ।
सप्तरीमा एकपछि अर्को हत्याको घटना हुँदासमेत अपराधी पक्राउ पर्न नसक्दा सर्वसाधारण त्रसित भएको स्थानीयको भनाइ छ ।
पछिल्लो चार वर्षमा ५५ कर्तव्य ज्यानको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा १० वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ । जसमध्ये ६ पुरूष र चार महिला छन् ।
आ.व २०८०/०८१ मा १७ मुद्दा दर्ता भएको छ । जसमध्ये ११ पुरूष र ६ महिला छन् । २०७९/०८० मा पनि १४ मुद्दा दर्ता भएकोमा आठ पुरूष र ६ जना महिला छन् । यसैगरी, २०७८/०७९ मा पनि १४ मुद्दा दर्ता भएकोमा नौ पुरूष र पाँच महिला छन् ।
घटनामा संलग्न ५८ जना प्रतिवादी पक्राउ परेका छन् । ५४ जना प्रतिवादी अझै फरार रहे पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रवक्ता जितेन्द्र बस्नेत जानकारी दिनुभएको छ ।