• १३ मंसिर २०८१, बिहिबार

भूकम्प प्रभावित प्रताडित : एक अर्ब रकम फ्रिज

blog

डिलबहादुर सिंह

सिलगढी, साउन ९ गते । डोटीको पूर्वीचौकी गाउँपालिका–५, उपरकाँडा गाउँका ४२ वर्षीय गमै साउदले राम्रोसँग सुत्न नपाएको नौ महिना पूरा भएको छ । २०७९ कात्तिक २२ गते राति आएको भूकम्पले घर भत्किएपछि उहाँ अस्थायी टहरामा बस्दै आउनुभएको छ । 

पीडित साउद परिवारको घर नहुँदा हिउँदको चिसो र बर्खाको झरीमा पनि दैनिक बसाइ कष्टकर हुने गरेको छ । उचित राहत तथा पुनस्र्थापनाको कार्यक्रम सञ्चालन हुन नसक्दा डोटीका करिब चार हजार भूकम्प प्रभावित परिवार साउदको जस्तै दुःख भोग्दै आएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार डोटीमा ५३९ घर पूर्ण क्षति र चार हजार १९३ घरमा आंशिक रूपमा क्षति पुगेको छ । भूकम्पमा परेर छ जनाको मृत्यु भएको थियो । 

यता स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन नभएका कारण भूकम्पपीडितका पक्षमा प्रभावकारी काम हुन नसकेको गुनासो गर्दै आएका छन् । स्थानीय जनप्रतिनिधिले प्रदेश र सङ्घीय सरकारप्रति गुनासो पोख्दै गर्दा स्थानीय तहहरूले आफैँले खर्च गर्न नसकेको एक अर्ब तीन करोड ५७ लाख ६९ हजार ७४१ रुपियाँ बजेट फ्रिज हुने भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि छुट्याइएको उक्त बजेट भूकम्पपीडितको पुनस्र्थापनामा खर्च गर्नेतर्फ पालिका प्रमुख तथा स्थानीय जनप्रतिनिधिले चासो दिएको देखिँदैन । 

भूकम्पका कारण सबैभन्दा बढी प्रभावित भएका पालिकामध्ये पूर्वीचौकी र सायल गाउँपालिका हुन् । त्यस्तै सायल गाउँपालिका जिल्लाको सबैभन्दा बढी रकम फ्रिज भएको पालिका हो । यस गाउँपालिकामा चालु र पुँजीगत गरी चार करोड नौ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज भएको छ । गाउँपालिका अध्यक्ष धर्मराज जोशीका अनुसार चालु आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने योजना सम्पन्न हुन नसक्दा रकम फ्रिज गएको हो । अध्यक्ष जोशीले भन्नभयो, “२०७९/८० मा सम्पन्न हुनुपर्ने भवन तथा सडकलगायत पूर्वाधारका योजना समयमा नै सम्पन्न हुन नसक्दा रकम फ्रिज भएको हो ।”

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका नियन्त्रक कृष्णबहादुर धामीका अनुसार आव २०७९/८० मा चालुतर्फ सात अर्ब नौ करोड ९७ लाख ६३ हजार २०२ र पुँजीगततर्फ दुई अर्ब ९२ करोड आठ लाख ३६ हजार गरी जम्मा १० अर्ब दुई करोड पाँच लाख ९९ हजार २०२ रुपियाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार ४६० मात्र खर्च भएको छ । चालुतर्फ ३९ करोड ४९ लाख ९९ हजार ४१२ र पुँजीगततर्फ ६४ करोड सात लाख ७० हजार ३३० रुपियाँ फ्रिज गएको छ । चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ छ अर्ब ७० करोड ४७ लाख ६३ हजार ७९० र पुँजीगततर्फ दुई अर्ब २८ करोड ६५ हजार ६७० मात्र खर्च भएको छ । 

रकम फ्रिज गर्ने स्थानीय तहमध्ये बोगटान फुड्सिल गाउँपालिका दोस्रो नम्बरमा रहेको छ । यस गाउँपालिकाको चालु र पुँजीगत गरी तीन करोड ९० लाख १५ हजार ३९१ रुपियाँ फ्रिज गएको देखिन्छ । 

भूकम्पका कारण बढी प्रभावित पूर्वीचौकी गाउँपालिकाको तीन करोड ४१ लाख ४३ हजार १८८ फ्रिज गएको छ । शिखर नगरपालिकाको तीन करोड आठ लाख ६१ हजार ३७१ र जोरायल गाउँपालिकाको दुई करोड ७५ लाख ५८ हजार ६१९ रकम खर्च हुन नसकी फ्रिज भएको छ । त्यस्तै आदर्श गाउँपालिकाको दुई करोड ४७ लाख ५६५, दिपायल सिलगढी नगरपालिकाको दुई करोड २० लाख १४ हजार ७३७, बडीकेदार गाउँपालिको दुई करोड नौ लाख १८ हजार १०४ र केआई सिंह गाउँपालिकाको एक करोड ८० लाख ६२ हजार ७९ रुपियाँ खर्च गर्न नसकी फ्रिज गएको सो कार्यालयले जनाएको छ ।