गोरखापत्र अनलाइन
काठमाडौं, साउन ७ गते । पूर्व राजदूत नीलाम्बर आचार्यले पुष्पलालले देश परिवर्तनका लागि जनताका प्रमुख शक्तिहरू एक ठाउँमा हुनुपर्ने नीति अख्तियार गर्नुभएको स्मरण गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औँ स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजित समाज रूपान्तरणमा पुष्पलालको भूमिका विषयक विचारगोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
आचार्यले भन्नुभयो, “नेपाललाई परिवर्तन गर्ने हो भने जनताका प्रमुख शक्तिसँगै हुनुपर्छ । संयुक्त आन्दोलन गर्नुपर्दछ । कांग्रेस, कम्युनिष्ट साथसाथै हिँड्नुपर्छ । यो कुरा उहाँको जीवनकालमा साकार भएन । तर उहाँको निधन भएको ११ वर्षपछि २०४६ मा सपना साकार भयो” पुष्पलालको भनाइ उद्धृत गर्दे उहाँले भन्नुभयो ।
उहाँले पुष्पलालको पारिवारिक र सामाजिक वातावरण क्रान्तिकारी पृष्ठभूमि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गङ्गालालबाट पनि प्रेरणा लिनुभयो होला । पुष्पलालप्रति श्रद्धा व्यक्त गर्दैगर्दा आजको पुष्पलाल स्मृति दिवसमा पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।”
उहाँले भन्नुभयो, “नेपालका प्रमुख पार्टीहरू मिलेर अगाडि बढेमा नेपालका ठुला समस्या समाधान हुन्छ । यी पार्टी टाढिएमा अन्य शक्तिले खेल्ने ठाउँ पाउँछन् । रोजगारी दिने, अस्पतालका कुरा, कृषि उत्पादनमा आत्मनिर्भरताका कुराहरू, जलस्रोत, असमान सन्धि पुनरावलोकन गर्न सक्छौँ ।”
उहाँले २०४६ को आन्दोलन सबै ठुला दल मिलेर सफल भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “२०४६ को आन्दोलन मिलेरै गरिएको हो । २०४६ को आन्दोलनपछि २०४८ मा पहिलो चुनाव भयो । गठन भएको सरकार ढल्यो । २०५२ सालमा ध्वंसात्मक आन्दोलन सुरु भयो । प्रजातान्त्रिक वातावरण थियो । दश वर्षसम्म देश हिंसामा रह्यो ।”