• २३ असार २०८२, सोमबार

राज्यबाट पहिलो पटक बीपीको योगदानको स्मरण

blog

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का कांग्रेसका अग्रज नेता कुलबहादुर गुरुङलाई सम्मान गर्दै ।

अशोक अधिकारी

काठमाडौँ, साउन ७ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (बीपी सङ्ग्रहालय) मा अघिल्ला वर्षमा कांग्रेस नेता र कार्यकर्ता मात्रै पुग्नुहुन्थ्यो । 

साउन ६ गते बीपी कोइरालाको स्मृति दिवसमा कांग्रेस नेता–कार्यकर्ताको सहभागितामा कार्यक्रम हुन्थ्यो । प्रजातान्त्रिक–लोकतान्त्रिक आन्दोलनको जग हाल्ने नेताहरूलाई राखिएको जेललाई सङ्ग्रहालयमा परिणत गरिएपछि पहिलो पटक कोइरालाको राजनीतिक बलिदानको स्मरण गर्दै सरकारले नै पहिलो पटक औपचारिक कार्यक्रम गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइरालाको ४१ औँ स्मृति दिवसमा ‘बिपी कोइरालालाई राष्ट्रिय पुरस्कार–२०७९, समर्पण समारोह’ आयोजना गरी राजनीति र साहित्य क्षेत्रमा सम्पूर्ण जीवन समर्पित गर्ने अग्रज स्रष्टाहरूलाई सम्मान र पुरस्कृत गरेको हो । 

बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले पहिलो पटक राज्यकै तर्फबाट बिपी कोइरालाको त्याग र बलिदानको स्मरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “महामानव बीपीको जीवन सधैँ जनताको अधिकारको केन्द्रमा रह्यो । तर राज्यले उहाँको योगदानलाई सम्मान गर्न सकेकै थिएन । वर्तमान सरकारले उहाँको त्याग र बलिदानको सम्मान गरेको महसुस मैले गरेको छु ।”

जनताको सेवा गर्ने सङ्कल्प गरौँ

कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्ने र जनतामा देखिएको निराशालाई अन्त्य गर्ने सङ्कल्पमा सरकार दृढ रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारका निर्णयमार्फत, हाम्रा कर्म, पार्टी सञ्चालनको शैलीबाट, जिम्मेवारीमा बसेकाको जीवन पद्धतिबाट, व्यवहार र निर्णय प्रक्रियाबाट जनतामा नयाँ विश्वासको वातावरण बनाउनु छ । मुलुक निर्माणको नयाँ बेगमार्फत आर्थिक अवस्थालाई सुधार गर्नु छ । बीपीले देखाउनुभएको बाटो र उहाँको सोचअनुसार जनपक्षीय काम गर्न हामी दृढ सङ्कल्प गरेर अघि बढिरहेका छौँ ।”

उपप्रधानमन्त्री खड्काले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार बीपी कोइरालाको सोचभन्दा अलग छन् भन्ने मलाई लाग्दैन भन्दै बीपीको राजनीतिक जीवन र उहाँले लिएका निर्णयको समीक्षा गर्दा यसको पुष्टि हुने बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदान सधैँ अमर रहने बताउनुभयो । उहाँले नेपाली मौलिक शैलीको समाजवादी सिद्धान्त प्रतिपादन गरेर नेता कोइरालाले समाज परिवर्तनको नवीन यात्रा थालनी गरेको बताउनुभयो । 

मन्त्री किरातीले विकासको पद्धतिमा नेपाली शैली अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संस्कृति र प्रकृतिमैत्री विकास नीति अवलम्बन गर्न सक्यौँ भने बिपीप्रति उच्च सम्मान हुन्छ । बीपीको समाजवादमा पुग्न त्यसरी नै सकिन्छ । नेपाली विशेषताको समाजवाद त्यही हुन्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा महामानव बीपीको योगदानको उच्च योगदान रहेको बताउँदै जनताको ठुलो त्यागबाट आएको परिवर्तन बचाउनुपर्ने भनाइ राख्नुभयो । 

कांग्रेसका पूर्वमहामन्त्री एवम् अग्रज नेता कुलबहादुर गुरुङले बीपी कोइरालाको राजनीतिक जीवनलाई अनुसरण गरेर अघि बढेमा मात्रै लोकतान्त्रिक व्यवस्थाको अनुभूति जनतालाई हुने बताउनुभयो । 

चार स्रष्टालाई सम्मान 

बीपी कोइरालालाई राष्ट्रिय पुरस्कारबाट चार स्रष्टा सम्मानित हुनुभएको छ । राजनीतिक दर्शन विधातर्फ गणतन्त्र घोषणा गर्दा प्रतिनिधि सभाका सभामुख रहेका कांग्रेसका अग्रज नेता तथा पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र पूर्वमन्त्री ढुण्डीराज पौडेल (ढुण्डीराज शास्त्री) सम्मानित हुनुभयो । 

साहित्यतर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरिराज आचार्य सम्मानित हुनुभयो । दुवै विधामा पुरस्कृत सर्जकले जनही एक लाख रुपियाँ र सम्मानपत्र प्राप्त गर्नुभयो ।

कांग्रेसले बीपीको विचार छाडेको छैन

यसैबिच राससका अनुसार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताउनुभएको छ ।

बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले  यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उहाँले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताउनुभयो । 

नेपालको कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भएको देशले ठुलो क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवम् वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भएमात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।