काठमाडौं, साउन ७ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ। आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालीगलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको हो। उहाँले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले कहीँबाट पनि गर्न नहुने बताउनुभयो। उहाँले आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उहाँले बताउनुभयो। उहाँले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन। हाम्रो पार्टीको दृष्टिकोण छैन। हाम्रो पार्टीको मिसन छैन। हाम्रो पार्टीको भिजन छैन, त्यो होइन। हाम्रो पार्टीको मिसन छ। हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं। उच्च मनोबलका साथ जनतामा जान्छौँ। हामी त खत्तम भइसक्यौँ। हाम्रो अब भविष्य छैन। फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो। ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरे पनि हामीले हाम्रो जनाधार विस्तार गर्न सक्दैनौं। अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएकोलाई पनि भएको जस्तो गरी प्रस्तुत गर्ने कुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नुहुँदैन।’’
उहाँले पार्टीभित्र मतभिन्नता भए पनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताउनुभयो।