काठमाडौं, साउन ६ गते। नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले आफू मजदुरको साथी सांसद बन्न चाहेको बताउनुभएको छ। कांग्रेसका संस्थापक बीपी कोइरालाको ४१औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको श्रमिक सवाल कार्यक्रमको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो विचार राख्नु भएको हो।
नेता पौडेलले बीपीको विचार अनुसार श्रम नीति बन्न नसकेको र अझै मजदुरवर्गको दैनिक जीवनमा लोकतन्त्र पुगिनसकेको जिकिर गर्नुभयो। पौडेलले भन्नुभयो, ‘‘अझै पाँच सय दिएर पाँच हजारको कागज बनाई श्रमजीवी वर्गको उठिबास लगाउने मिटरब्याजी व्याप्त छन्। यस्ता विकृति र शोषण अन्त्य गर्न राज्य कडा ढङ्गले प्रस्तुत हुनुपर्छ।’’
वर्तमान महँगीलाई हेर्ने हो भने अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई दैनिक दुई हजार ज्याला हुनुपर्ने बताउनु हुँदै मजदुरको समस्या र मुद्दामा मजदुरको साथी सांसद बनेर काम गर्ने इच्छा रहेकोले ट्रेड युनियन कांग्रेसलाई सहयोग गर्न पौडेलले आग्रह गर्नुभयो।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपालको श्रमिक आन्दोलन र सहकारी आन्दोलनको जग बसाल्ने काम बीपी कोइरालाले गर्नुभएको बताउनु हुँदै कोइरालाले देख्नुभएको सपना साकार गर्न श्रमिकको आर्थिक सुधार हुनुपर्ने बताउनुभयो।
ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले श्रमिक वर्गको शिक्षा स्वास्थ्यमा सहज पहुँच र युवाले मर्यादित रोजगारी पाएपछि मात्र बीपीको विचार साकार हुने बताउनुभयो। श्रमिकका विभिन्न सवाललाई छलफल र संवाद गर्ने उद्देश्यले श्रमिक सवाल कार्यक्रमको सुरुवात गरेको ट्रेड युनियन कांग्रेस बागमती प्रदेश अध्यक्ष गणेश भट्टराईले जानकारी दिनुभयो।