• १३ साउन २०८१, आइतबार

महालक्ष्मी दोभान–चखेल–मातातीर्थ–सतुङ्गल सडक

निर्माणमा ढिलाइसँगै निर्माण कम्पनीद्वारा काममा लापरबाही

blog

राममणि दाहाल

हेटौँडा, साउन ६ गते । हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुङ्गल जोड्ने सडकको काम निर्माण कम्पनीका कारण ढिलाइ हुँदै आएको छ। बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत बोलपत्र आह्वान गरी काम भइरहेको छ।

दुवै खण्डको काममा ढिलाइ भएसँगै लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक सरोकार समितिले असन्तुष्टि जनाउँदै आएका छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले दुवै खण्डका सडकको अवस्था र निर्माणमा गर्नुपर्ने सुधारबारे गत असारमा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताउनुभयो। 

सम्झौता अनुसार भएन काम

दुवै सडकखण्ड निर्माण कम्पनीसँग सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने थियो। महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्ड आर्थिक वर्ष २०७७/७८ मा र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड २०७५/७६ मा ठेक्का सम्झौता भएको हो। महालक्ष्मी दोभान–मकैबारी खण्ड एक पटक र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्डको तीन पटक म्याद थप भए पनि निर्माणको काम पूरा भएको छैन। मकवानपुरतर्फको तुलनामा काठमाडौँतर्फको काम ढिलो भएको छ। काठमाडौँतर्फको काम तेस्रो पटक म्याद थपिँदासमेत पूरा नभएपछि पुनः म्याद थपको दौडधुपमा निर्माण कम्पनी लागेको छ। 

पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रप्रसाद चौधरीले महालक्ष्मी दोभान–मकैबारी खण्डको एक पटक थपिएको म्याद गत जेठमा सकिएको भन्दै काम अन्तिम चरणमा पुगेको र साउनभित्र काम पूरा गरी कालोपत्र गर्ने योजना रहेकाले पुनः म्याद थप नभएको जानकारी दिनुभयो। उहाँका अनुसार साढे छ किमी लम्बाइको उक्त खण्डको तीन स्थानमा ह्युम पाइप हाल्ने र ६० मिटर ढलान गर्ने काम बाँकी छ। “कालोपत्रे गर्न बोलपत्र आह्वान भइसकेको छ। सात मिटर चौडा कालोपत्रेसहित ढल निर्माण हुने छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले पाँच करोड रुपियाँ विनियोजन गरेको छ। समयमा राम्रोसँग काम भए आगामी आवभित्रै कालोपत्रेको काम पूरा हुने छ,” उहाँले भन्नुभयो।

सरोकार समितिले व्यवसायीले सम्झौता अनुसारको काम पूरा नगरेको, महालक्ष्मी दोभानदेखि मकैबारीसम्म केही स्थानमा ग्राभेल गर्ने काम बाँकी रहेको भन्दै वर्षाको समयलाई दृष्टिगत गरी आवश्यक पर्ने स्थानमा अस्थायी सडक नाली अनिवार्य रूपमा निर्माण गर्न मन्त्रालयसँग माग गरेको छ। इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका समितिका संयोजक जीवन लामाले स्थानीय रामकृष्ण लामाको घर छेउमा परापूर्वकालदेखि रहेको पानीको मुहान क्षेत्रमा स्ल्याब कल्भर्ट र पर्खालको इस्टिमेट रहेकाले वैकल्पिक प्रविधिसहित पछि काम गर्न र सडकखण्डको महालक्ष्मी दोभानदेखि मकैबारीसम्मको क्षेत्रमा अनिवार्य १० मिटर चौडा पु¥याएर मात्र सबबेस तथा ग्राभेल गर्न मन्त्रालयलाई सुझाइएको जानकारी दिनुभयो। 

तीन पटक म्याद थपिँदासमेत छैन प्रगति

आव २०७५/०७६ मा मकैबारीदेखि मातातीर्थ सतुङ्गल खण्डको ठेक्का सम्झौता भई हालसम्म तीन पटक म्याद थप गरेको समय सकिँदासमेत निर्माण कार्य पूरा भएको छैन। कालोपत्रेसहित साढे आठ किमी सडक स्तरोन्नति गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले पछिल्लो पटक गत जेठसम्मका लागि थपिएको समयमा पनि पूरा नभएपछि पुनः म्याद थपको प्रयासमा लागेको छ। 

काठमाडौँतर्फको सडकखण्ड हेर्दै आएको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख पुष्करप्रसाद पोख्रेलले निर्माण कम्पनीको काम सन्तोषजनक नभएको बताउनुभयो। “सडकको काम म्याद थप भए अनुसार खासै भएको छैन, ५५ प्रतिशत भएको छ। म्याद थपका लागि निर्माण कम्पनीले ताकेता गरिरहेको छ, थप गर्ने पक्षमा छैनौँ,” उहाँले भन्नुभयो। उहाँले जरिबाना लगाएर काम गराउने र काम नगरे ठेक्का तोड्ने चेतावनी पनि दिनुभयो। 

सडक सरोकार समितिलगायतले अनुगमन गर्दा काठमाडौँतर्फको सडकखण्डमा मापदण्ड अनुसारको काम नभएको, ललितपुर पूर्वाधार कार्यालयबाट फिल्डमा प्राविधिक नभएको र निरन्तर अनुगमनमा नभेटिएको, सडकका अधिकांश भागमा सब बेस खनाइराखेकाले आवतजावतमा समस्या भएको, स्ल्याब ढलान तथा प्लम वालको काम प्राविधिक मापदण्डविपरीत गर्दै गरेको भेटिएको समितिका संयोजक लामाले बताउनुभयो।

सबैको साथ र सहयोग हुँदाहुँदै पनि निर्माण कम्पनी अमर कन्स्ट्रक्सन आफ्नो काममा गम्भीर नभएको र सम्बन्धित कार्यालयबाट समयमै ताकिता नगरेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। संयोजक लामाले भन्नुभयो, “मकवानपुरतर्फको काम भए पनि काठमाडौँतर्फको काममा सन्तोष गर्ने ठाउँ छैन।”