• २१ असार २०८१, शुक्रबार

गाँजाको विकल्पमा कफी खेती

blog

अनिल पराजुली

हेटौँडा, साउन ५ गते । अवैध भए पनि गाँजा खेती गर्दै आएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५, ठाडेचुरेका चन्द्रमान प्रजाले गाँजाको विकल्पमा कफी खेती सुरु गर्नुभएको छ। छ वर्षअघिदेखि घरवरिपरि गाँजा खेती गर्दै आएका प्रजा अहिले कफी खेती गर्दा झन् खुसी हुनुभएको छ। 

“अब गाँजा खेती हटाउनु पर्छ, कफी खेती गर्नु पर्छ। कफीको पाँच सय बिरुवा रोप्ने तयारी गरेको छु,” उहाँले भन्नुभयो। बुधबार प्रजासँगै राक्सिराङ–५ कै धनकुमार प्रजा र अभिषेक उप्रेतीको बारीमा पनि कफीका बिरुवा रोपियो। अहिले राक्सिराङ–५ मा कफीका १५ हजार बिरुवा वितरण गरिएको छ भने अन्य वडामा विस्तार गरिने बताइएको छ। 

भारतीयको लगानीमा गाँजा खेती

पाँच/छ वर्षअघिसम्म राक्सिराङलगायतका गाउँमा गाँजा खेती गराउन भारतीय व्यापारी आउने गरेका थिए। “रोपनीको पाँच हजार रुपियाँ र मल बिउ उनीहरूले नै दिन्थे। गाँजा तयार भएपछि उनीहरू आएर लैजान्थे र हामीलाई अलि अलि पकेट खर्च दिन्थे,” प्रजाले भन्नुभयो।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि भने गाउँमा चहलपहल बढी भएको र नजिकै प्रहरी चौकी पनि स्थापना भएकाले आसपासका क्षेत्रमा गाँजा खेती गरिएन। केही टाढाका गाउँमा भने गाँजा खेती भइरहेको थियो। कहिलेकाहीँ प्रहरी आएर फाँडिदिन्थे। यस क्षेत्रमा खेतीपाती राम्रो नहुने र यहाँको उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि स्थानीय गाँजा खेतीतिर लागेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो। 

गरिबी र बेरोजगारी मुख्य कारण 

चेपाङ र तामाङको बाहुल्य रहेको यो क्षेत्रमा गरिबी र बेरोजगारीको समस्या धेरै छ। भिरालो जमिन भएका कारण मकै, कोदो जस्ता बाली मात्र उत्पादन हुने र रोजगारीको अन्य अवसर नभएकाले गरिबी धेरै रहेको अध्यक्ष मल्लले बताउनुभयो। 

गैरकानुनी गाँजा खेतीलाई निरुत्साहित गर्न लागिपरेको चर्चा गर्दै अध्यक्ष मल्लले भन्नुभयो, “हामीले गाउँपालिकाबाटै भूउपयोग नीति पास गरेका छौँ। प्राविधिकसहित वडा वडामा गएर वनस्पति र फलफूल जातका बिरुवा रोप्न अध्ययन गरेका छौँ। अहिले कफी पनि आयो अब गाँजाको विकल्प कफी बनाउँदै लैजानु पर्छ। गाउँपालिकाका तर्फबाट गाँजाको विकल्पमा कफी खेतीका लागि स्रोत व्यवस्थापन, तालिम दिनुका साथै किसानलाई प्रेरित गर्न बिमा, ऋणलगायतका विषयमा पनि सहजीकरण गर्छौं।” बागमती प्रदेश प्रहरी कार्यालयले नै गाँजा खेतीको वैकल्पिकमा कफी खेती गर्न प्रोत्साहन गरिरहेको छ भने बजारको जिम्मा पनि लिने प्रतिबद्धता जनाएको छ। 

बुधबार प्रदेश प्रहरी कार्यालयको अगुवाइमा मकवानपुरको राक्सिराङ गाउँपालिका–५, ठाडेचुरेमा कफी रोपिएको हो। प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणाको उपस्थितिमा कफीका बिरुवा रोपिएको थियो। प्रहरी नायब महानिरीक्षक राणाले गाँजा, अफिम खेतीको विकल्प दिएर स्थानीयको आर्थिक अवस्थामा दीर्घकालीन सुधार गर्नुपर्नेमा जोड दिँदै गाँजाको विकल्प कफी खेती भएको बताउनुभयो। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत प्रहरीले गाँजाको विकल्पमा कफीका बिरुवा वितरण गरेको बताउनुभयो। 

तीन लाख बिरुवा वितरण

प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा मास्के मल्टिपर्पाेज एग्रिकल्चर एन्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीका लागि निःशुल्क बिरुवा उपलब्ध गराएको हो। मास्के मल्टिपर्पाेजका सञ्चालक धनबहादुर श्रेष्ठका अनुसार कफीका करिब तीन लाख बिरुवा चितवन र मकवानपुरको राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा निःशुल्क वितरण गरिएको छ। श्रेष्ठले ब्राजिलबाट एक क्विन्टल अरेबिक जातको कफीको दाना ल्याएर स्थानीयलाई बेर्ना उत्पादन गर्न लगाएर कफी खेती गर्ने किसानलाई निःशुल्क वितरण गरेको बताउनुभयो। 

“कफी खेतीका लागि नेपालको माटो राम्रो छ। यहाँ उत्पादन हुने कफी उच्चस्तरीय छ। यसलाई व्यवस्थापन गर्ने, हुर्काउने तरिका सही भए ३०/३५ वर्षसम्म कफी उत्पादन हुन्छ। त्यसपछि कफीको बोटलाई एक फिट कटिङ गरेमा अर्को ३५ वर्ष उत्पादन दिन सकिन्छ,” सञ्चालक श्रेष्ठले भन्नुभयो। यो कफी उत्पादन भएपछि किसानकै बारीबाट प्रतिकिलो एक सय रुपियाँमा खरिद गरिदिने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “कफी खेतीबाट लगभग तीन पुस्ताले उत्पादन लिन सक्छन्। एक रोपनीमा एक सय बोट लाग्छ, प्रतिबोट १० किलोका दरले कफी उत्पादन गर्दा एक लाख रुपियाँको कफी उत्पादन हुन्छ। यसका लागि २५ हजार खर्च लागे पनि किसानलाई ७५ हजार रुपियाँसम्म फाइदा हुन्छ।” 

झन्डै सात सय केजी गाँजा बरामद

मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार राक्सिराङबाट आर्थिक वर्ष २०७९/८० मा लागुऔषध गाँजा ६८८ किलो ७६० ग्राम र अफिम छ किलो बरामद भएको थियो। तीन भारतीयसहित राक्सिराङका सात जना सो लागुऔषधसहित पक्राउ परेका थिए। उहाँले बर्सेनि लागुऔषध गाँजा र अफिम फँडानी गरेर मात्रै समस्या समाधान नहुने भएकाले गाँजाको विकल्पका अन्य नगदे बालीतर्फ स्थानीयलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो। “लागुऔषध गाँजा र चरेस बरामद तथा मानिस पक्राउ पर्ने बढ्दो छन्। यसको न्यूनीकरण गर्न गाउँमा भइरहेको गाँजा खेतीलाई कम गर्न कफी खेती महत्त्वपूर्ण हुन सक्छ,” उहाँले भन्नुभयो।