• १२ मंसिर २०८१, बुधबार

बर्दिबासमा निःशुल्क रक्त सेवा

blog

बिरामीलाई निःशुल्क रगत प्रदान गर्दै बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्री । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असार ४ गते । स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको बर्दिबास नगरपालिकाले निःशुल्क रक्त सेवा सुरु गरेको छ । सेवा सुरु भएपछि नगर क्षेत्रका बासिन्दालाई रगतका लागि कुनै प्रकारको शुल्क तिर्नु नपर्ने भएको छ । 

यसरी निःशुल्क रक्त सेवा सुरु गर्ने बर्दिबास मधेश प्रदेशकै पहिलो स्थानीय तह भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीको बर्दिबास ३ गौरीडाँडास्थित शाखा कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख प्रह्लाद क्षेत्रीले खुट्टाको सर्जरी गराउनका लागि बर्दिबास ४ का कृष्णबहादुर माझीलाई बुधबार १ पिन्ट रगत उपलब्ध गराएर निःशुल्क रक्त सेवाको शुभारम्भ गर्नुभएको हो । उहाँले चालु आवको नीति तथा कार्यक्रममै व्यवस्था भएअनुसार निःशुल्क रक्त सेवाको शुभारम्भ भएको जनाउनुभयो । 

नगरपालिकाको नीति तथा कार्यक्रममा बर्दिबास ३ मा रक्तसञ्चार केन्द्र निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । यसैलाई मूर्तरुप दिन रक्त सेवा निशुल्क गरिएको उहाँले बताउनुभयो । 

“बर्दिबास अब रक्त सेवा शुल्क मुक्त नगर भएको छ”, नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “यो सेवाले पीडितलाई राहतका साथै स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।”

रेडक्रसका उपशाखाका सभापति सुदीप कार्कीले यो सेवा लिने बिरामीले बर्दिबास नगरपालिकाको बासिन्दा भएको परिचय खुल्ने प्रमाण पेस गर्नुपर्ने व्यवस्था मिलाइएको बताउनुभयो । तथापि स्थानीयबाहेक पनि बर्दिबासलाई केन्द्र बनाएर पेसाकर्म गर्नेहरुलाई समेत निःशुल्क रक्त सेवा कार्यक्रमले समेटेको जनाउनुभयो । 

बर्दिबास रेडक्रस सदस्य मुकुन्द पौडेलका अनुसार यहाँको उपशाखाले सेवा शुल्क वापत प्रति पिन्ट रगतको एकहजार ४०० रुपियाँ लिने गरेको छ । बर्दिबासमा मासिक १०० देखि १२५ पिन्ट रगत खपत हुने गरेको रेकर्ड छ । निःशुल्क गरेपछि नगरपालिकाले वार्षिक १६ देखि २१ लाख रुपियाँ बराबरको रगत सहयोग गर्नुपर्ने पौडेलले बताउनुभयो । 

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झाका अनुसार यसरी निःशुल्क रक्त सेवा सुुरु गर्ने बर्दिबास मधेश प्रदेशकै पहिलो स्थानीय तह हो । यसअगि आमा सुरक्षाका नाममा प्राप्त अनुदानबाट खर्च हुने गरी सुत्केरी महिलालाई निःशुल्क रगत उपलब्ध गराइन्थ्यो तर नगरक्षेत्रका सबै बिरामीलाई निःशुल्क रक्त सेवा सुरु गरिएको यो पहिलो भएकोे उहाँको भनाइ छ । 

“बर्दिबास नगरपालिकाको यो प्रयास जति सराहनीय छ उत्तीकै अनुकरणीय पनि छ,” डा. झाले भन्नुभयो, “यस्ता सत्कार्यले स्वास्थ सेवालाई सहज र सर्वसुलभ बनाउन मद्दत गर्छ। यसको सिको अरुले पनि गर्नुपर्ने हो ।” 

बर्दिबास रेडक्रसका लागि रेडक्रसकर्मी, कर्मचारी, सुरक्षा निकाय, शैक्षिक क्षेत्रलगायतले रक्तदान गर्दै आएका छन् ।