• १३ पुस २०८१, शनिबार

सोबिता गौतम अन्तर्राष्ट्रिय युवा राजनीतिज्ञ अवार्डबाट सम्मानित हुनुहुँदै

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोबिता गौतम ।

काठमाडौं, साउन ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोबिता गौतमले अन्तर्राष्ट्रिय युवा राजनीतिज्ञ अवार्डबाट सम्मान पाउनुहुने भएको छ ।

सांसद गौतमको सचिवालय प्रमुख प्रकृति न्यौपानेले उहाँ ‘द वान योङ्ग वर्ल्ड पोलिटिसियन अफ द एयर–२०२३’ बाट सम्मानित हुन लाग्नुभएको जानकारी दिनुभयो ।

उहाँले गौतमको लोकप्रियताले राजनीतिमा युवाको संलग्नता एवम् उत्प्रेरकको काम गरेकाले सो सम्मान दिन लागिएको बताउनुभयो । ब्रेन ड्रेनले ग्रस्त देशका युवाहरूमा सक्रिय राजनीतिमा लाग्न र सकारात्मक परिवर्तनका लागि काम गर्न प्रेरित गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिजो मात्रै यससम्बन्धी औपचारिक पत्र प्राप्त भयो । विश्वका धेरै राष्ट्रहरूमा नेपालको नाम समावेश हुनु नै ठूलो कुरा हो, युवाहरूलाई यसले राजनीतिमा लाग्न प्रोत्साहित गरेको छ ।”

२७ वर्षीया साेबिता गौतम नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद हुनुहुन्छ ।

उहाँको जन्म दोलखामा भएको हो । त्यो बेला उहाँको जन्म गाउँमा बिजुलीलगायतको सुविधा थिएन । कम सुविधाबीच सरकारी विद्यालयमा पढ्नुभएको गौतमले गत निर्वाचनदेखि रास्वपाबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो ।

राजनीतिमा आउनुअघि उहाँ खर्ता वकिलका साथै सञ्चार क्षेत्रमा पनि कार्य गर्नुभएको थियो । जननिर्वाचित सांसद भएपछि संवैधानिक परिषद् ऐन, भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई बलियो बनाउन आवाज उठाउँदै आउनुभएको छ ।

कानुन, न्याय र मानव अधिकार समितिमा सेवा गर्नुहुँदै उहाँ संसदमा महत्त्वपूर्ण प्रभाव पार्न प्रयासरत रहनुभएको छ । उहाँलाई आगामी अङ्ग्रेजी महिना अक्टोबरमा लण्डनस्थित एक कार्यक्रममा सो सम्मानसहितको पुरस्कार प्रदान गरिनेछ । 

नेपालका तर्फबाट गौतमसहित अन्य चार देश क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेल्जियमका युवा राजनीतिज्ञ यस पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।