• २० असोज २०८१, आइतबार

ताप्लेजुङमा बर्सेनि बढ्दै आत्महत्याका घटना

blog

ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङमा बर्सेनि आत्महत्याका घटना वृद्धि हुँदैछ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार पछिल्लो चारयता आत्महत्याका घटना बर्सेनि बढ्दो क्रममा रहेको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा मात्र आत्महत्याका ३८ घटना भएका छन् । आत्महत्या गर्ने उक्त सङ्ख्यामध्ये ३३ जनाले झुन्डिएर ज्यान गुमाएका छन् । यस्तै चार जनाले विष सेवन र एक जनाले खोलामा हाम फालेर आत्महत्या गरेका छन् । 

आर्थिक वर्ष २०७८÷७९ मा ३१ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर २९ जना र विष सेवन गरी दुई जना आत्महत्या गरेका थिए । आव २०७७÷७८ मा २९ जनाले झुन्डिएर, दुई जनाले विष सेवन, एक जनाले पानीमा हाम फालेर र हातहतियार तथा आफ्नो शरीरमा आफैँ आगो लगाएर एक–एक जना गरी ३४ जनाले आत्महत्या गरेका थिए । 

त्यस्तै आव २०७६÷७७ मा पनि २६ जनाले आत्महत्या गरेका थिए । सो आवमा आत्महत्या गर्नेमा झुन्डिएर २३ जना तथा पानीमा हाम फालेर तीन जना रहेका छन् । यसरी आत्महत्यासम्बन्धी घटना निरन्तर बढेकोप्रति समाजका अगुवा तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आत्महत्याविरुद्ध जागरण र चेतना अभिवृद्धिसम्बन्धी गतिविधि नहुँदा घटना वृद्धि भइरहेको उनीहरूको बुझाइ रहेको छ । आत्महत्या निरुत्साहित गर्न अभियान चलाउनुपर्ने तड्कारो आवश्यकता भएको पनि उनीहरूको भनाइ छ ।