• ६ जेठ २०८१, आइतबार

पर्यटकको खर्च र बसाइ घट्यो

blog

काठमाडौँ, साउन ४ गते । सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षको तुलनामा विदेशी पर्यटकको आगमन बढे पनि पर्यटकको नेपाल बसाइ र औसत खर्च घटेको छ ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको र पर्यटकले नगद कारोबार गर्दा सरकारी तथ्याङ्कमा औसत खर्च घटेको देखिएको बताउनुभयो । 

“एकातिर महामारीपछि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्काेतर्फ पर्यटकको बसाइ र उनीहरूले गर्ने खर्चमा कम देखिनुमा होटल, यातायात क्षेत्रमा नगदै कारोबार भएका कारण हुन सक्छ,” उहाँले भन्नुभयो ।  

महामारीअघि नेपालमा पर्यटकले दैनिक ४८ र महामारीको समयमा ६० डलर खर्च गर्ने गरेको भए पनि अहिलेको तथ्याङ्कले ४०.५ पाँच डलर दैनिक खर्च गरेको देखाउनुमा नगद भुक्तानीको सङ्ख्या बढेको हुन सक्ने लामिछानेले बताउनुभयो । 

भारतीय नागरिकलाई २५ हजार भारुभन्दा बढी नगद बोक्न नदिने नेपाल राष्ट्र बैङ्कको नीतिका कारण पनि भारतीय पर्यटकले बसाइ लम्ब्याउन अनलाइन भुक्तानी गर्ने गरेको र उक्त नीतिकै कारण पर्यटकको बसाइ लम्ब्याउनसमेत समस्या देखिएको उहाँले जनाउनुभयो । 

पर्यटकले गर्ने खर्चलाई बढाउन ट्रेकिङमा जाने विदेशी पदयात्रीलाई अनलाइनबाट भुक्तानीको प्रक्रियामा ल्याए सरकारलाई राजस्व बढ्ने र आम्दानीको सीमासमेत बढ्ने देखिने उहाँले बताउनुभयो । 

बोर्डको पछिल्लो विवरण अनुसार नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलर र बसाइ १३.१ दिनमा खुम्चिएको छ । यसअघि सन् २०२१ मा पर्यटकले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलर र औसत बसाइ १५.५ दिनसम्म हुने गरेको थियो । यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टाइनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको उहाँले बताउनुभयो । सन् २०१५ मा पर्यटकको औसत बसाइ १३.१६ दिन, सन् २०१६ मा १३.४, सन् २०१७ मा १२.६, सन् २०१८ मा १२.४ र सन् २०१९ मा १२.४ दिन रहेको थियो ।

नेपालमा पर्यटकले गर्ने औसत खर्च घट्दा त्यसले पर्यटनसँग सम्बन्धित व्यवसायीलाई भने चिन्तित बनाएको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले कोरोना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताउँदै नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो । पर्यटकको औसत खर्च र नेपाल बसाइ लम्ब्याउन नयाँ गन्तव्यको विस्तार र पर्यटकलक्षित वातावरण बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

पर्यटन बोर्डका अनुसार सन् २०२३ को छ महिनाको अवधिमा कुल पर्यटक आगमन चार लाख ७६ हजार ५०६ जना पुगेको छ । यस अनुसार नेपालमा प्रतिमहिना ७९ हजार ४१३ जना पर्यटक नेपाल आएका छन् ।

   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।