चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ३ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक वर्षको अवधिमा चार हजार जनालाई नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ११ जनालाई अंगीकृतसहित तीन हजार आठ सय ७६ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार गत आर्थिक वर्षमा वंशजका आधारमा तीन हजार ८६४ जनालाई नागरिकता वितरण गरिएको छ । यस्तै वैवाहिक अङ्गीकृत नागरिकता ११ जना र जन्मको आधारमा एक जनालाई नागरिकता प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा दुई हजार ८३६ वटा नागरिकताको प्रतिलिपि जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्रशासन कार्यालयले पाँच हजार ४५८ जनालाई नागरिकता प्रदान गरेको थियो । सो आर्थिक वर्षमा दुई हजार १०८ जनालाई प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि उपलब्ध गराएको थियो । यता आर्थिक वर्ष २०७९/८० मा ७९ जनालाई नाबालक परिचयपत्र वितरण गरेकोसमेत प्रशासन कार्यालयले जनाएको छ।