• ८ वैशाख २०८१, शनिबार

एमालेको मधेश प्रदेश अधिवेशन असोजमा

blog

नेकपा एमालेको मधेश प्रदेश सचिवालय बैठक । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, साउन ३ गते ।
नेकपा (एमाले)ले आगामी असोज महिनामा मधेश प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । बुधबार जनकपुरमा सम्पन्न पार्टीको प्रदेश सचिवालय बैठकले अगामी असोज ५ र ६ गते जनकपुरधाममा अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटीका सदस्य सोमप्रसाद शर्माले अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो । उहाँले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

शर्माका अनुसार बैठकले २०८० चैत मसान्तभित्र प्रदेश कमिटी, प्रदेशका आठ वटा जिल्ला कमिटी, १३६ पालिका कमिटी, एक हजार २७१ वटा वडा कमिटी र ११ हजार ४३९ वटा टोल कमिटीको अधिवेशन, गठन तथा पुनर्गठन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी, सोही बैठकले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताको व्यवस्थापन मिलाउन सुमन प्याकुरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

यस्तै, मधेशको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि तत्कालीन एवम् दीर्घकालीन कार्यक्रम तयारीका लागि जुली महतोको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।