• १५ वैशाख २०८१, शनिबार

फेरि बल्झियो फोहोरको समस्या

blog

काठमाडौँ, साउन ३ गते । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको छ। नुवाकोटको ककनी नगरपालिका र धादिङको धुनिबेँसी गाउँ पालिकाका स्थानीयवासीले बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जनका लागि सोमबार फोहोर लिएर गएका गाडीलाई बाटैमा रोकेपछि फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको हो। 

विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहोर महिनौँसम्म सङ्कलन र व्यवस्थापन हुन नसक्दा उपत्यकाका प्रायः सबै चोक र गल्ली फोहोरले दुर्गन्धित बनेको थियो। गत वर्ष स्थानीयवासीको अवरोधले दुई महिनासम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुने सकेको थिएन।

बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटका इन्चार्ज सरकारदीप श्रेष्ठले काठमाडौँबाट बिहानै फोहोर बोकेर गएका ६५ वटा ट्रक स्थानीयवासीको अवरोधपछि ल्यान्डफिल साइटै नपुगी बिचबाटै फर्केको बताउनुभयो। उहाँका अनुसार ट्रक नुवाकोटको आलेटार भन्ने ठाउँसम्म पुगेर फर्केका हुन्। दुई सय ट्रक पठाउने योजना रहेकोमा पहिलो खेपमै गएका ट्रक फर्केपछि थप पठाइएन।

साइट इन्चार्ज श्रेष्ठले बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने विषय टुङ्गो नलागेसम्म काठमाडौँ महानगरपालिकालगायत उपत्यकाका अन्य पालिकाको समेत फोहोर सङ्कलन तथा व्यवस्थापन प्रभावित हुने बताउनुभयो।

ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनतासँग सङ्घीय सरकार काठमाडौँ महानगरपालिकाले विगतमा गरेका सहमति कार्यान्वयन हुन नसक्दा बाध्य भएर स्थानीयवासीले फोहोर व्यवस्थापनमा अवरोध पु-याउने निष्कर्षमा पुगेको बताउनुभयो। 

फोहोर र मानिससँगै बस्न नसकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “फोहोर विसर्जन अन्यत्र गर्नुप-यो कि अहिले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुप-यो। यस्तो नगरिएसम्म फोहोर विसर्जनमा समस्या आइरहन्छ।’’ त्यसै गरी काठमाडौँ महानगरपालिकासँग भएको सहमति अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्र विसर्जनका लागि ल्याउनुपर्नेमा अहिलेसम्म त्यसो गरिएको नपाइएको उहाँले आरोप लगाउनुभयो।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न जग्गा अधिग्रहण नै स्थानीयवासीको मुख्य माग रहेको गाउँपालिका प्रमुख तामाङले बताउनुभयो। त्यसका लागि करिब तीन हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। सङ्घीय सरकारको सहयोगबिना काठमाडौँ महानगरपालिकाले एक्लै यति जग्गा अधिग्रहण गर्न सक्दैन। 

प्रवेश शुल्क नलिन अन्तरिम आदेश

यसैबिच सर्वोच्च अदालतले फोहोर विसर्जनका लागि बन्चरेडाँडा ल्यान्डफिल साइट जाने गाडीसँग कुनै प्रकारको प्रवेश शुल्क अहिले नलिन सोमबार अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले टोखा नगरपालिका र फोहोरमैला व्यवस्थापन सङ्घले फोहोर बोक्ने गाडीसँग प्रवेश शुल्क नलिने व्यवस्थाका लागि सर्वोच्च अदालतलमा आइतबार दायर गरेको रिटमा सो अन्तरिम आदेश भएको जानकारी दिनुभयो।

यसअघि ककनी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को साउन १ गतदेखि काठमाडौँको फोहोर लिएर बन्चरेडाँडा जाने साना र ठुला गाडीबाट प्रतिखेप क्रमशः एक हजार र एक हजार पाँच सय रुपियाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो। गाउँपालिकाको सोही निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।