चित्र मिजार
सिन्धुपाल्चोक, साउन ३ गते । वर्षौंदेखि पुल अभावले आउजाउमा समस्या भोगिरहेका सिन्धुपाल्चोकका दुर्गम क्षेत्रका स्थानीयलाई झोलुङ्गे पुल निर्माण भएपछि आवागमन सहज भएको छ।
बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने ३४९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएको छ। बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले उक्त झोलुङ्गे पुल निर्माण हुँदा हिमाली क्षेत्रका स्थानीयलाई सहज भएको बताउनुभयो।
उहाँका अनुसार बाह्रबिसेको साँधीखोल्चामा मोटरेबल पुल निर्माणले राजधानी–तातोपानी सीमा क्षेत्र पुग्न सहज भएको छ। नगर प्रमुख बस्नेतले नगरपालिकाका नौवटै वडामा झोलुङ्गे पुल, पक्की पुल निर्माण हुने बताउनुभयो। नगरपालिकाले दुर्गम भेगलाई उच्च प्राथमिकता दिएर विकास निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो।
त्यस्तै सुनकोशी गाउँपालिका–२, तित्रेबाट काभे्रको भुल्मु गापा–२ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ। एक करोड ५० लाख रुपियाँको लागतमा निर्माण भएको उक्त पुल ३१० मिटर लम्बाइको छ। सुनकोशी गाउँपालिका–२ का वडाध्यक्ष विष्णु महतले उक्त पुल निर्माण भएपछि दुई जिल्लाका बासिन्दालाई आउजाउमा सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, “घण्टौँ लगाएर आउजाउ गर्नुपर्ने समस्या हटेको छ। अब उक्त पुलबाट १० मिनेटमै आउजाउ हुन्छ।”
सिन्धुपाल्चोकमा दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय दर्जनौँ झोलुङ्गे पुल निर्माणको चरणमा छन्। पछिल्लो समय स्थानीय सरकारको ध्यान पक्की र झोलुङ्गे पुल निर्माणमा गएको छ। स्थानीय तहले पुल निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिरहेको नगर प्रमुख बस्नेतले बताउनुभयो। स्थानीय सरकार गठनपछि दर्जन सङ्ख्यामा हेलम्बु गाउँपालिकामा मात्रै झोलुङ्गे पुल निर्माण भइसकेका छन्। २०७८ असार १ को बाढीले पूर्ण क्षति गरेपछि पुनः झोलुङ्गे पुल निर्माण गरिएको छ। मेलम्चीमा बेलिब्रिज हालिएको छ भने चनौटेमा एक वर्षअघि बेलिब्रिज निर्माण भइसकेको छ। झोलुङ्गे पुल र बेलिब्रिज जडानपछि सवारीसाधन, नागरिकलाई आवतजावतमा सहज भएको छ।