फडिन्द्र अधिकारी
लेखनाथ, साउन १ गते । राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खेम सारुमगर आइतबार पुरस्कृत हुनुभएको छ । रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत सारुमगरलाई गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजारसहित सम्मान गर्नुभएको हो ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको यो पुरस्कार नेपाल मगर पत्रकार सङ्घ कास्कीले सञ्चालन गर्दै आएको छ । कौराहा संरक्षणमा पत्रकारितामार्फत योगदान गरेकोमा सारुमगरलाई पुरस्कृत गरिएको हो ।
यस्तै, उपसभामुख थापामगरले कला संस्कृति, भाषा र भेषभूषाको मौलिक पहिचान भएको जनाउँदै यी संरक्षणको दायित्व सबैको हुने औँल्याउनुभयो । “हाम्रो कला संस्कृति, भाषा र भेषभूषा संरक्षणमा सबैले चासो राख्नुपर्छ,” उपसभामुख थापामगरले भन्नुभयो, “विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारिताले सहयोग गर्दै आएको छ ”
पुरस्कृत व्यक्तित्व सारुमगरले मगरहरूको कला, संस्कृति र भेषभूषा संरक्षण गर्न थप जिम्मेवारी मिलेको सुनाउनुभयो । नेपाल मगर पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा बनेको प्रतिभा छनोट समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । मौलिक कौराहा पत्रकारिता पुरस्कार २०७५ मा स्थापना भएको हो । मौलिक कौराहा संरक्षणमा योगदान गर्ने कलमजीविलाई यो पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति केन्द्रीय अध्यक्ष हर्क आलेमगरले बताउनुभयो ।
यसअघि यो पुरस्कारबाट कमला रानामगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप रानामगर (तनहुँ), मानबहादुर घर्तीमगर (कास्की) र मनोज घर्तीमगर (कास्की) पुरस्कृत भइसक्नुभएको छ ।