गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २० गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आगामी असोज १ र २ गते पावर समिट–२०२५ आयोजना गर्ने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी इप्पानले यस्तो जानकारी दिएको हो । नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित ऊर्जा विकास मार्गचित्र–२०८१ को लक्ष्य प्राप्तिमा सम्मेलनलाई केन्द्रित गर्ने गरी मिसन २८ हजार पाँच सय मेगावाटको नारामा नवौँ चरणको यो सम्मेलन गर्न लागिएको इप्पानले जनाएको छ । सम्मेलनका विभिन्न सत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणका विविध आयाममा स्वदेशी तथा विदेशी लगानीकर्ता, विज्ञ तथा नीतिनिर्माताको सहभागितामा छलफल गरिने इप्पानले जनाएको छ ।
पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहँदै आएको र त्यसलाई अझै प्रभावकारी बनाउँदै आगामी सन् २०३५ सम्ममा नेपालको विद्युत् उत्पादन २८ हजार पाँच सय मेगावाट पुर्याउने विषयमा सम्मेलन केन्द्रित रहने जानकारी दिनुभयो । “सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन पुर्याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो,” उहाँले भन्नुभयो, “यो दात्यित्व पूरा गर्न बेलैमा सक्रियता होस् भन्ने मुख्य उद्देश्य यो सम्मेलनको छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावासको साझेदारीमा विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्घ संस्था, निकाय र कम्पनीको सहभागितामा बृहत् रूपमा यो समिट आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
हालसम्म निजी क्षेत्रले जलविद्युत् उत्पादन क्षेत्रमा १३ खर्ब रुपियाँ बराबरको लगानी गरिसकेको र ५० खर्ब रुपियाँ लगानीका लागि तयारी गरिरहेको उहाँको भनाइ छ ।
सम्मेलनमा ३० भन्दा धेरै देशका लगानीकर्ता, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतका सरोकारवाला सहभागी हुने इप्पानले जनाएको छ ।
सम्मेलनमा नेपाल र दक्षिण एसियाली देशको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत् र कार्बन व्यापारसँगै नवीनतम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चित, अन्तरदेशीय पूर्वाधार निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एसियाली मुलुकको नेट जिरो इमिसनको लक्ष्य प्राप्ति, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्मेलनमा सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकका रूपमा चिनाउने थलो समिट बन्ने इप्पानले अपेक्षा गरेको जनाउँदै विज्ञप्तिमा उल्लेख छ, “ऊर्जा क्षेत्रका विगतदेखिका तथा नयाँ चुनौतीको सामनाका लागि नेपाल र अन्य देशले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारको अनुभव र अभ्यासबारे समेत समिटमा छलफल हुने छ ।”