• २० असार २०८२, शुक्रबार

उत्कृष्ट विद्यार्थीलाई ५० हजार र विद्यालयलाई चार लाख नगदसहित सम्मान

blog

सम्मानित विद्यार्थीहरु । तस्बिर : अस्मिता पोखरेल

अस्मिता पोखरेल 
धादिङबेंसी, असार २० गते ।
धादिङको नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसइईमा चार जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीहरुमा न्यु किबो बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष भण्डारी, नीलकण्ठ बालमन्दिर माविका सन्ध्या तिमलसिना, चिल्ड्रेन पार्क आवासीय माविका प्रिसिला तामाङ र सुनौलो भैरवी माविका प्रशंसा श्रेष्ठ हुनुहुन्छ ।

नीलकण्ठ नगरपालिकाले उत्कृष्ट विद्यार्थी मात्र नभई, शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल विद्यालयलाई समेत सम्मान गरेको छ ।

नगरपालिका भित्रका विद्यालयहरुमध्ये सर्वोत्कृष्ट विद्यालय प्रकाश मावि, लामागुरु महादेव मावि, महेन्द्र मावि र भैरवी माविलाई नगद चार-चार लाख रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाले सदैव विद्यार्थी र विद्यालयको प्रोत्साहनमा प्राथमिकता दिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “नतिजा देखाउनुस्, पैसा लिन आउनुस् । त्यसै पैसालाई शैक्षिक सुधारमा लगानी गर्नुस् । हामी आवश्यक परेको सहयोग दिन तयार छौं। ’’

नगर प्रमुख ढुंगानाले विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताउनुभयो । “नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न कहिल्यै डराउँदैन,’’ ढुंगानाले स्पष्ट पार्नुभयो । विकास निमार्णको काम कटाएर भएपनि शिक्षा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय हुने बताउनुभयो । उहाँले स्थानीय सरकारको सक्रियता र प्रोत्साहनले शिक्षा क्षेत्रको रूपान्तरण सम्भव रहेको बताउनुभयो ।

सम्मान कार्यक्रममा अन्य शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । नीलकण्ठ नगरपालिकाले जिरो कक्षा देखि १२ कक्षासम्म निःशुल्क शिक्षा घोषण गरिसकेको छ ।