सिराज खान
नेपालगञ्ज, साउन १ गते । नेपालगन्ज रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काम गुणस्तरहीन भएको विषयमा ध्यानाकर्षण गराउँदा पनि काम नरोकिएपछि बाँके जिल्ला खेलकुद विकास समितिले प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगन्ज कार्यालयमा तालाबन्दी गरेको छ।
एथलेटिक्स सेन्थेटिक ट्रयाक निर्माणमा गुणस्तरहीन काम भइरहेको भन्दै समितिले राखेपको ध्यानाकर्षण गराएको थियो, तर सो विषयमा कुनै चासो नदेखाएपछि कारबाहीको माग गर्दै बाँके समितिले अनिश्चितकालका लागि प्रदेशको नेपालगन्ज कार्यालयमा तालाबन्दी गरेको हो ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजङ्ग शाहले गुणस्तरहीन निर्माण कार्य रोक्ने चेतावनी दिएपछि राखेपका इन्जिनियर चिरञ्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएकोले आन्दोलन गर्नु परेको बताउनुभयो ।
रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको जानकारी गराएपनि राखेपले सुनुवाइ नगरेको गुनासो जिल्ला अध्यक्ष शाहको छ ।
अपशब्द प्रयोग गर्ने इन्जिनियरलाई कारबाही नहुन्जेलसम्म प्रदेश कार्यालयमा तालाबन्दी गर्ने साथै समितिले सेन्थेटिक ट्रयाक ठिक मापदण्ड अनुसार भए नभएको जाँच हुनुपर्ने, निर्माण कम्पनीले कामभन्दा बढी भुक्तानी लिएको जानकारी आएकाले सो रकम के कसरी भुक्तानी भएको सो कुराको समितिलाई जानकारी गराउनुपर्ने माग राखिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अनुसार राखेपको निगरानी बिना ठेकेदारको मनपरी निर्माण कार्य भइरहेको छ । ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माणको जिम्मा प्रतीक्षा निर्माण कम्पनीले लिएको छ । आठौँ राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको रङ्गशालामा त्यतिबेला एथलेटिक्स सेन्थेटिक ट्रयाकको निर्माण हुन सकेको थिएन । सोही कारणले गत वैशाखमा शिलान्यास गरेर अहिले त्यहाँ ट्रयाक निर्माणको काम भइरहेको छ ।
यसैबीच प्रतीक्षा निर्माण कम्पनीले भने ठेक्का सम्झौता गरिए अनुसार नै निर्माणको काम भइरहेको दाबी गरेको छ ।