• १५ मंसिर २०८१, शनिबार

बाँकेमा अढाई अर्ब विकास बजेट भएन खर्च

blog

कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँकेको कार्यालय । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन १ गते । सङ्घ र प्रदेशका कार्यालयतर्फ बाँकेमा विनियोजन भएको विकास बजेटमध्ये आर्थिक वर्ष २०७९–८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेन । 

कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेकाअनुसार सङ्घीय विनियोजनतर्फ पुँजीगततर्फ आठ अर्ब चार करोड रुपियाँ बजेट विनियोजन भएकोमा ६ अर्ब २१ करोड रुपियाँ मात्रै खर्च भएको छ । चालु खर्चतर्फ १२ अर्ब २१ करोड रुपियाँ बजेट रहेकोमा ११ अर्ब ६४ करोड रुपियाँ खर्च भएको थियो । 

कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका कोष नियन्त्रक तथा सूचना अधिकारी शरदकुमार बरालका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा पुँजीगततर्फ आठ अर्ब ६८ करोड रुपियाँ बजेट रहेकोमा ६ अर्ब ५४ करोड रुपियाँ खर्च भएको थियो । 

यसैगरी लुम्बिनी प्रदेशतर्फ पुँजीगत तर्फ दुई अर्ब ४६ करोड रुपियाँ बजेट विनियोजन भएकोमा एक करोड ८२ लाख रुपियाँ मात्रै खर्च भएको छ । गत आव २०७८/७९ मा पुँजीगत बजेट दुई अर्ब १९ करोड रहेकोमा एक अर्ब ७१ करोड रुपियाँ खर्च भएको थियो । यसैगरी चालु खर्चतर्फ एक अर्ब ६१ करोड रुपियाँ बजेट विनियोजन रहेकोमा एक अर्ब १५ करोड रुपियाँ खर्च भएको छ । 

बाँकेमा गत आवमा २४ अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यो रकम अघिल्लो आव २०७८–७९ भन्दा करिब चार अर्ब रुपियाँले कमी हो ।