• १२ असोज २०८१, शनिबार

स्वदेश फर्कियो महिला फुटबल टोली

blog

स्वदेश फर्किएको नेपाली टोली त्रिभुवन विमान स्थलमा ।

काठमाडौं, साउन १ गते । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल सिरिज जितेको नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । नेपालले बङ्गलादेशविरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज १–० ले जितेको हो ।

नेपालले बिहीबार भएको पहिलो खेलमा बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेको थियो । पहिलो खेलमा नेपालकी सावित्री भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभएको थियो । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । नेपालको जितमा गोलरक्षक अञ्जना रानामगरले उत्कृष्ट प्रदर्शन गर्नुभयो । टाइब्रेकरमा नेपालकी सावित्री भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गर्नुभयो । अञ्जना रानामगरको प्रहार बारमा लाग्दै बाहिरिएको थियो।

बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माले मात्र गोल गर्न सक्नुभएको थियो । मारिया मण्डा र सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाउनुभएको थियो । नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । यसपटक नेपाली टोली साफमा हारेको बदला लिएर फर्किएको छ ।