गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २४ गते । यस वर्ष मनसुनको एक महिनामा विभिन्नप्रकारका विपतबाट ३० जनाको मृत्यु भएको छ । गत जेठ १३ देखि असार १३ गतेसम्म विभिन्नप्रकारका विपतबाट ३० जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । बाढीबाट चार जना र भारी वर्षामा परेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर तीन जना, हावाहुरीबाट एक जना, जनावरको आक्रमणबाट आठ जना, लेक लागेर चार जना, सर्पदंशबाट दुई जनाको मृत्यु भएको छ । विपत्जन्य घटनामा परेर १४४ जना घाइते भएका थिए भने ९८६ परिवार प्रभावित बन्न पुगेका थिए ।
एक महिनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा सात जना, कोशीमा छ जना, गण्डकी र लुम्बिनीमा पाँच–पाँच जना, सुदूरपश्चिममा तीन जना र कर्णालीमा एक जनाको मृत्यु भएको हो । उक्त अवधिमा ६४४ वटा विपत्का घटना
भएका थिए । मनसुन छिटो भित्रिए पनि त्यसको प्रभाव कमजोर रहेकाले विपत्जन्य ठुला घटना नभएको प्राधिकरणका प्रवक्ता सुरेश सुनारले जानकारी दिनुभयो । अझै मनसुन अवधि दुई महिना बाँकी रहेकाले यस वर्षको प्रतिकार्य योजना पूर्ण सतर्कतासाथ पालना गर्न उहाँले आग्रह गर्नुभयो । गत वर्षको मनसुनको यसै अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्याङबाट मात्र ८४ जनाको मृत्यु भएको थियो ।
सरदरमै सीमित वर्षा
यस वर्ष मनसुनको एक महिना वर्षाको हिसाबले कमजोर मानिएको छ । यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सुरुवाती महिनामा पूरा हुन नसकेको जल तथा मौसम विज्ञान विभागले स्वीकार गरेको छ । बाँकी तीन महिनामा पनि केही भूभागमा सरदरभन्दा कम वर्षा हुने नयाँ आँकलन विभागले सार्वजनिक गरेको छ ।
जेठ १५ गते राति नै नेपाल भित्रिएको मनसुन दुई सातासम्म पूर्वबाट मध्यसम्म पनि आइपुग्न सकेन । असार पहिलो साताबाट देशव्यापी बन्न अग्रसर बनेको मनसुन असारको मध्यसाता अलि बढी सक्रिय बनेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता विभूति पोखरेलले भन्नुभयो, “कतिपय स्थानमा हालसम्म अनुमानभन्दा कम वर्षा भयो, विशेष गरी पूर्वको तराई र मधेशमा एक महिनासम्म सुक्खा रहेको अवस्था छ ।” त्यसपछि विभागले अर्को तीन महिनाको वर्षाको आँकलनै अद्यावधिक गर्नु परेको उहाँले बताउनुभयो । देशका विभिन्न स्थानमा रहेका २० वटा वर्षामापन केन्द्रको तथ्याङ्क अनुसार एक महिनामा २६२.२ मिलिमिटर वर्षा भएको छ ।
असारको मध्यपछि एक साताका लागि सक्रिय मनसुनको विवरण भने अर्को महिनामा विश्लेषण गरिने विभागले जनाएको छ । अबको केही दिन फेरि मनसुन कम निष्क्रिय बन्ने छ । मङ्गलबारदेखि करिब एक सातासम्म देशका अधिकांश स्थान घमाइलो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार नेपालमा मनसुनी न्यूनचापीय रेखा सरदर अवस्थामा कायम छ । अब वर्षा हुन त्यो रेखा सरदरभन्दा वर नेपालनजिक आउनु पर्छ । सुरुवाती एक महिनामा धेरैजसो खण्डित वर्षा रेकर्ड भएको पनि उहाँले जानकारी दिनुभयो ।