• ६ कात्तिक २०८१, मङ्गलबार

नयाँ बन्दै छ नयाँ बानेश्वर

blog

काठमाडौँ, साउन १ गते । व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु भएको छ । 

दायाँ मोडमा विश्राम क्षेत्र अर्थात् ‘राइट टर्निङ होल्डिङ जोन’ नाम दिइएको सुधारको काम जापानी सहयोग नियोग जाइकाको सहयोगमा हुन थालेको हो । 

माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुशीलबाबु ढकालले अध्ययन प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका अति व्यस्त चोकमध्ये एक नयाँ बानेश्वरको ट्राफिक व्यवस्थापन तथा सो क्षेत्रमा हुने सवारी जाम घटाउन निर्माण सुरु गरिएको जानकारी दिनुभयो । नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा यस जोनको निर्माण भइरहेको छ ।

“निर्माण सुरु भइसकेको छ । त्यसै अन्तर्गत सो क्षेत्रमा माइतीघर–तीनकुने सडकखण्डको बिच (मेडियन) मा लगाइएका रुखबिरुवा उखेल्ने र तार पोल हटाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो,  “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब साठी लाख रुपियाँ अनुदान सहयोगमा निर्माण भइरहेको छ । अब बढीमा डेढ महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’’

महानिर्देशक ढकालका अनुसार अहिले सडक बिचमा रहेको ‘मेडियन’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिने छ, जुन लेनबाट माइतीघरतिरबाट आउने सवारीसाधन शङ्खमूलतर्फ जाँदा अरू लेनका सवारीसाधन रोक्नु पर्दैन । त्यसै गरी तीनकुनेतिरबाट आउने सवारीसाधन पुरानो बानेश्वरतर्फ जाँदा अन्य लेनलाई असर गर्दैन । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनुका साथै सो क्षेत्रमा सवारी जाम हुने छैन ।

यो जोनको निर्माणपछि पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने सवारीसाधन सम्बन्धित लेन भएर मात्र सोतर्फ जाने छन् । चोकको पूर्व र पश्चिमतर्फ करिब दुई सय मिटरसम्म सो जोनको निर्माण हुन्छ । त्यसतर्फ जाने सवारीसाधन त्यही लेनमा उभिनु पर्छ । निर्धारित क्षेत्रसम्म ती लेन त्यसतर्फ जाने सवारीसाधनले मात्र प्रयोग गर्न पाउने महानिर्देशक ढकालको भनाइ छ ।

उहाँले यसरी निर्माण हुने ‘राइट टर्निङ होल्डिङ जोन’को सञ्चालनपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा आउने सुधार तथा सोको मूल्याङ्कनका आधारमा राजधानीको लैनचौरलगायत अन्य अति व्यस्त चोकमा सरकारले आफ्नै लगानीमा यस प्रकारको होल्डिङ जोनको निर्माण गरिने बताउनुभयो । 

निर्माण कार्य स्वच्छन्द निर्माण सेवाले गरिरहेको छ । निर्माण स्थलमा खटिनु भएका इन्जिनियर सुरज वैद्यले सवारी साधनको अवागमनलाई असर नगर्ने गरी राति काम हुने बताउनुभयो ।

मुलुकको सडक इतिहासमै पहिलो पटक आठ लेनको निर्माण भएको सो सडकखण्डको चौडाइ ४६.४० मिटर रहेको छ भने कुल लम्बाइ २.६६ किलोमिटर छ । १० वर्षअघि यस सडकको निर्माण सम्पन्न भएको थियो ।