• १७ असार २०८२, मङ्गलबार

मिटरब्याजी उजुरी : ३५५ वटा फर्स्योट

blog

सर्लाही समाचारदाता

सर्लाही, असार ३१ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजका सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३५५ वटाको फर्स्योट   भएको छ। 

सरकारले मिटरब्याजीको मारमा परेका नागरिकका लागि मिटरब्याजअर्थात् अनुचित लेनदेन जाँचबुझ आयोग बनाएर छानबिन अगाडि बढाएपछि जिल्लाभरबाट एक हजार ९२० उजुरी परेका थिए। त्यसमध्ये बिहीबार बिहानसम्म ३५५ उजुरीकर्ता र उनीहरूले उजुरी दिएका आरोपित मिटरब्याजीलाई राखेर छलफल गराई मिलापत्र गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। 

प्रजिअ यादवका अनुसार फस्र्योट गरिएका ३५५ वटा उजुरीमध्ये मिटरब्याजीले आफ्नो नाममा गरिसकेका तीन बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गरिएको छ। जिल्लाभरबाट प्राप्त उजुरीमध्ये जो व्यक्तिविरुद्ध बढी उजुरी परेको छ, उसलाई प्राथमिकतामा राखेर निरन्तर छलफल गराई उजुरी फस्र्योट गरिरहेको उहाँले बताउनुभयो। एक महिनादेखि मिटरब्याजीका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा छलफल जारी छ। 

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको रोहवरमा दैनिक छलफल भइरहेको हो। उजुरी परेका व्यक्ति र उजुरी दिने पीडितलाई राखेर लेनदेन भएको वास्तविक रकम, बुझाइसकेको ऋणलगायतबारे छलफल गराई दुवै पक्षलाई सहमतिमा ल्याई उजुरी फस्र्योट गर्दै अघि बढेको उहाँले बताउनुभयो। छलफलका क्रममा अनेक बहनाबाजी गर्ने र पीडितसँग मिलापत्रमै आउन नखोज्ने पाँच जनालाई प्रहरी हिरासतमै पठाइएको छ। प्रहरी हिरासतमा पठाएपछि मिलापत्रका लागि सहमति गरे पश्चात् ती पाँचै जनालाई हिरासतमुक्त गरिसकिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।