• २० असोज २०८१, आइतबार

आवश्यकताको आधारमा मात्र योजना छनोट गर्न खेलकुद मन्त्रीको आग्रह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खेलकुद मन्त्री डिगबहादुर लिम्बु। तस्बिरः हरिप्रसाद कोइराला

हरि कोइराला

उर्लाबारी (मोरङ), असार ३० गते। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले प्राथमिकता, आवश्यकता र औचित्यका आधारमा मात्र योजना छनौट गर्न आग्रह गर्नुभएको छ। शनिबार मोरङको लेटाङमा लेटाङ नगरपालिकाको १३ नगरसभाबाट पारित नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताउँदै मन्त्री लिम्बुले ठुलो योजनामा ठोस उपलब्धि प्राप्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो। परम्परागत रुपमा गरिएका विकासे मोडल सफल नभएको उल्लेख गर्दै विकासका योजना तयार गर्दा सबै दलका नेता एउटै टेबलमा बसेर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।  मन्त्री लिम्बुले भन्नुभयो, ‘‘लेटाङ नगरको राजनीतिक संस्कार देशभरले सिक्नुपर्छ, विकासका योजना तयारका साझा धारण बनाउन सकेकै कारण लेटाङमा देखिने विकास भएको छ।’’ 

मन्त्री भएको सय दिन पनि नपुगेको उल्लेख गर्दै लिम्बुले केन्द्रीय बजेट प्रभावकारी रुपमा आउन सक्ने अवस्था आफूले नदेखेको बताउनुभयो। उहाँले क्षेत्रीय विकासको कोषको पाँच करोड रुपियाँबाट चार वटा पालिकामा एकएक करोडका योजना छनौट गर्न आग्रह गर्नुभयो।  सबै राजनीतिक दलका नेता बसेर साझा धारणाबाट योजना छनौट गर्नुपर्नेमा जोड  दिनुभयो।

युवालाई स्वदेश मै उत्पादनसँग जोड्न युवा स्वरोजगार कार्यक्रम नयाँ ढाँचामा आउन लागेको मन्त्री लिम्बूको भनाइ थियो। लिम्बूले लेटाङका घरेलु कपडा उद्योगलाई अझ सक्षम र उत्पादन वृद्धिमा लाग्न आग्रह गर्दै लेटाङबासीले लेटाङबाटै उत्पादन भएको कपडा लगाउने अभियान सुरु गर्नुपर्ने बताउनुभयो।

लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ १ का निर्वतमान सांसद घनश्याम खतिवडा, मोरङ १(२)का कोशी प्रदेश सांसद खड्गबहादुर बस्नेत, लेटाङ नगरपालिकाका निवर्तमान नगर प्रमुख शङ्कर राईलगायतले धारणा राख्नुभयो। 

नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७५ करोड ९ लाख ७ हजार रुपियाँको अनुमानित बजेटबाट सञ्चालन हुने विकास कार्यक्रमको संक्षेप रुप प्रस्तुत गर्नुभयो।