• २२ असार २०८१, शनिबार

सप्तरीमा पनि ‘लम्पी स्किन’ रोगको प्रकोप

blog

सप्तरीमा बढ्दै लम्पी स्किन रोग । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव
सप्तरी, असार २९ गते ।
सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।

लम्पी स्किन रोगबाट केही दिन अगाडि छिन्नमस्ता गाउँपालिका वडा–५ लोखरमस्थित छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्ममा लम्पीस्किन रोगबाट दुई वटा गाईको मृत्यु भएको फर्मको सञ्चालिका पुनिता मिश्रले बताउनुभयो । त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिक–१ तिलाठी निवासी हरिदेव झाको गाई पनि लम्पीस्किन रोगबाट मरेको बताउनुभयो  ।

राजविराज पशु अस्पतालका प्रमुख प्रभातकुमार झाका अनुसार सप्तरीमा लम्की रोगबाट अहिलेसम्म २५/३० वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको जानकारी दिनुभयो । सप्तरी जिल्लामा १८ वटै पालिकामा लम्पी रोगको प्रभाव ३ देखि ५ प्रतिशतमा देखा परेको उहाँले बताउनुभयो  । सप्तरीका सप्तकोशी र डाकनेश्वरी नगरपालिकामा अलि बढी प्रभाव परेको थियो अहिले अवस्था सामान्य भएको उहाँको भनाइ छ । उहाँले यो रोग तिरहुत, रुपनी, तिलाठी कोइलाडी गाउँपालिकाका साथै शम्भनाथ, राजविराज नगरपालिकासहित अन्य पालिकामा समेत प्रवाह परेको बताउनुभयो ।

यो रोगको प्रभाव गाईमा बढी देखिएको छ । लम्पी रोग लागेको गाई गोरुलाई सुरुमा उच्च ज्वरो आउँने, खाना खान नरुचाउने कमजोरी हुने र शरीर भरि गाँठ–गाँठ जस्ता देखा पर्छन ।

पशु अस्पतालका प्रमुख झाले अहिले यो रोगको भ्याक्सिन निस्किएको भए पनि बजारमा सहजै पाउन सकिएको छैन तर केही दिनभित्र सहजै उपलब्ध हुने जानकारी दिनुभयो ।