• ११ मंसिर २०८१, मङ्गलबार

सुन र अवैध सामानसहित एकजना पक्राउ

blog

प्रहरीद्वारा बरामद गरिएको सुन ।

राममणि दाहाल

हेटौँडा, असार २८ गते। मकवानपुर प्रहरीले सुन र अवैध कपडा र खाद्यान्नसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुनसहित अवैध सामान बरामद गरेको हो। 

सुमोमा सवार वीरगञ्ज महानगरपालिका १ का वर्ष ३५ का प्रभु साह सोनारसहित प्रहरीले पहेँलो धातु र भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुनचाँदी व्यवसायी सङ्घ मकवानपुरले बिहीबारको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपियाँ बराबरको सुन फेला पारी उक्त पहेँलो धातुसहित सोनारलाई नियन्त्रण लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ। 

यस्तै प्रहरीले भन्सार छलेर ल्याइएको तीन लाख ५७ हजार ८८९ रुपियाँ  बराबरको अवैध कपडा तथा खाद्यान्न बरामद गरेको छ। हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा यात्रुवाहक बसको डिक्कीबाट भन्सार छलेर ल्याइएका कपडा तथा खाद्यान्न बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय  पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।