मीना कँडेल
(कावासोती) नवलपुर, असार २८ गते । गैँडाकोट नगरपालिकाले ‘एक घर एक बिरुवा’ हरित सडक कार्यक्रमको नीति लिएको छ। स्थानीयस्तरमा सामुदायिक वनसँग साझेदारी गर्दै उत्पादनमूलक जडीबुटी तथा फलफूल खेतीबाट आयआर्जन र रोजगारी वृद्धिमा जोड दिने जनाइएको छ।
नगर प्रमुख मदनभक्त अधिकारीले भन्नुभयो, “वातावरण संरक्षणका लागि १८ वटै वडा समितिमार्फत टोल विकास संस्थालाई सिर्जनशील काममा जोड दिई ‘स्वच्छ र हराभरा गैँडाकोट’ र ‘हाम्रो टोल हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नयाँ कार्यक्रम सञ्चालन गर्दै छौँ।” उहाँले नगरपालिकाले वन तथा वातावरण संरक्षणसँगै पूर्वाधार तथा भौतिक विकासतर्फ नगरको सहरीकरणलाई व्यवस्थित गर्दै जोखिम न्यूनीकरणमा ध्यान दिएको बताउनुभयो।
नगरपालिकामा बालश्रम शून्य बनाउने, बालविवाह, जघन्य अपराधबाट नगरलाई मुक्त बनाउने गरी काम अघि बढाइएको उपप्रमुख शान्ति कोइरालाले बताउनुभयो। निःशुल्क शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि अध्ययन कार्यदल बनाई क्रमशः कार्यान्वयन गरिने र कक्षा ५ सम्म अभिभावकबाट बाध्यात्मक रूपमा लिइने आर्थिक सहयोगलाई आगामी आर्थिक वर्षबाट पूर्ण रूपमा निषेध गरिने भएको छ। कृषिमा आधुनिकीकरणलाई जोड दिँदै एक वडा एक उत्पादन, माटो जाँच शिविर, पशुपालन, दुध उत्पादन बढाउने कार्यक्रम पनि नगरपालिकाको रहेको छ।
जमिनमुनिको पानी पुनर्भरणका लागि नगरपालिका–१ देखि १७ सम्म उत्तरी क्षेत्रको पहाडका उपयुक्त ठाउँमा सिमसार क्षेत्र निर्माण गर्न माथिल्लो सरकारसँग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो।