अमरराज नहर्की
तनहुँ, असार २८ गते । यहाँ निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पानी लैजाने सुरुङ निर्माण झन्डै ७५ प्रतिशत पुरा भएको छ । पानी लैजाने सुरुङको एक हजार चार सय ५६ मिटर मध्ये पाँच सय मिटर मात्रै बाँकी रहेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले बताउनुभयो । यसै सुरुङमार्फत पानी खसाएर पावर हाउस निर्माण हुने छ ।
१४० मिटर अग्लो बाँध बन्ने स्थानमा नदी फर्काउन आवश्यक पर्ने छ सय २६ दशमलव ९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण पुरा भइसकेको आयोजनाले जनाएको छ । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने शिल्पाकारले बताउनुभयो । बाँध स्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा डाइभर्सन टनेल बनाइएको उहाँले बताउनुभयो । नदीको सतहमा डाइभर्सन टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको काम पूरा गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको काम पूरा भएको थियो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग गरिनेछ । आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिनेछ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । ऋषिङ गाउँपालिका–१ निर्माण हुने १४० मेगावाटको यो जलविद्युत् आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि। नेपाल जेभीले निर्माण गरिरहेको आयोजनाले जनाएको छ । यस अन्तर्गत हाल मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङको निर्माण पूरा भइसकेको छ । बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् । सुरुङ, विद्युत् गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार तेस्रो प्याकेज अन्तर्गत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ । टावर फाउन्डेसन कार्य अन्तिम चरणमा पुगेको शिल्पाकारले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने तनहुँ र चितवनको जग्गाको मुआब्जामा निर्धारण भई वितरण समेत ९८ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी को डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाे भएको हो ।
आयोजनाको विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुनेछ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग [जाईका]ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।