काठमाडौं, असार २६ गते। उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीलाई ब्राण्डिङ गरेर विश्व बजारमा पुर्याउनु आवश्यक रहेको बताउनुभएको छ।
असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भएर नेपाल फर्किएपछि मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादन ब्राण्डिङ गरी विश्व बजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरूले अग्र्यानिक चकलेटहरू बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्याएको देखियो। यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ।’
भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो। भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरू मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र सङ्घीय संसद् सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो।