• २७ वैशाख २०८१, बिहिबार

सरकारमा जाने कुनै मनसाय छैन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा उहाँले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट पार्नुभयो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश सङ्गठन कमिटीको सातौं बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । 

आफ्नो पार्टी सरकार बनाउने, खसाउने खेलमा सहभागी नहुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा रहेको  चर्चा गर्नुभयो । उहाँले सरकार र सत्तारुढ दलले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुनेगरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको उहाँको टिप्पणी छ । ओलीले भन्नुभयो, ‘अहिले सात महिना त सिद्धियो । मिटरब्याजीहरुको सम्बन्धमा जेठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्रीले भने पनि त्यो सत्य नभएको उहाँको भनाइ छ । ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने प्रावधान भए पनि सरकारले सो अनुसारको काम नगरेको उहाँले आरोप लगाउनुभयो । “हामीले भन्यौं मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ । संसद् चलाउने गरी अघि बढौं” तर सो अनुसार काम नभएको उहाँको भनाइ छ ।

पार्टी मिसन २०८४ मा रहेकाले अध्यक्ष ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।