• १२ पुस २०८१, शुक्रबार

ललिता निवास प्रकरण : थप दुई पूर्वकर्मचारी पक्राउ

blog

काठमाडौं, असार २६ गते । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सो प्रकरणमा मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र हुनुहुन्छ ।

यसैगरी, यसअघि आइतबार सिआइबीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो ।

किर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायतलाई पक्राउ परिसकेका छन् ।

प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।