• १५ चैत २०८०, बिहिबार

आधा अर्बको पानी निर्यात

blog

काठमाडौँ, असार २६ गते ।  चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । 

११ महिनाको अवधिमा सबैभन्दा धेरै पानी छिमेकी मुलुक भारतमा ५४ करोड २३ लाख ६४ हजार रुपियाँ ८२ लाख ८२२ लिटर निर्यात भएको तथ्याङ्क छ । जर्मनी, जापान, युनाइटेड अरब, अस्ट्रेलिया, हङकङ, भुटानमा स्वदेशी पानी निर्यात भएको तथ्याङ्क छ । पछिल्लो समय नियमित रूपमा स्वदेशी उच्च गुणस्तरको पानी विभिन्न देशमा निर्यात हुने गरेको छ । 

नेपालबाट तीन प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ । सो अवधिमा मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको हो । हाल नेपालबाट सबैभन्दा धेरै रसुवा र नेपाल स्प्रिङ ब्रान्डको पानी निर्यात हुँदै आइरहेको छ ।

हाल रसुवा जिल्लाको धुन्चेमा कारखाना खोलेर रसुवा ब्रान्डको पानी विदेश निर्यात भइरहेको छ । नेपाल सरकारले पानी उत्पादन सम्बन्धित कानुन नबनाउँदा निर्यातमा समस्या उत्पन्न भइरहेको छ । सरकारले पानी उत्पादनको मापदण्ड नबनाउँदा विदेशी आयातकर्ताले मागेको गुणस्तरको प्रमाणपत्र देखाउन मुस्किल भइरहेको उत्पादकको भनाइ छ ।

यस्तै सो अवधिमा विदेशबाट ५८ लाख ८७ हजार रुपियाँ बराबरको खानेपानी आयात भएको विभागको तथ्याङ्क छ । 

विदेशबाट विभिन्न ब्रान्डको पानी आयात हुने गर्छ । अस्पताल, पाँचतारे होटलमा विदेशबाट आयात भएको पानी बढी प्रयोग हुने गर्छ । 

सरकारले आगामी आवको बजेटमार्फत सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी ‘वाटर फ्रम दी हिमालय’ कार्यक्रम घोषणा गरेको छ । 

हिमालको पानीलाई ब्रान्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने बजेटमा उल्लेख छ । हिमालको पानी ठुलो परिमाणमा निर्यात गर्न सके ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने अपेक्षा गरिएको छ ।